डीआईजीपी रनिङ कप : प्रभात र पिनाकल सेमिफाइनलमा

मंगलबार सम्पन्न खेलबाट प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल विराटनगर र पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङ सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

पुस १५, २०८२

एलिना राई

DIGP Running Cup: Prabhat and Pinnacle advance to semifinals

What you should know

धरान — सातौं कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिताको सातौं दिन भएको खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल विराटनगर र पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार धरानस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगर र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा प्रभात सेकेण्डरीले ४–३ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफमा प्रभात सेकेण्डरीका योसेप मगरले ९औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि युवाहाङ राईले २७ औं मिनेटमा दोस्रो गोल गरे । दोस्रो हाफमा दिल्ली पब्लिकका अमन खवासले ४६ औं र ५१ औं मिनेटमा एक–एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

ट्राइब्रेकरमा प्रभात सेकेण्डरीका तर्फबाट भुवन भण्डारी, युवाहाङ राई, असिम राई र नेम्साङ मगरले गोल गरेका थिए भने प्रशान्त उरावको प्रहार बाहिरिएको थियो । दिल्ली पब्लिकका तर्फबाट अमन खवास, आदित्यराज मण्डल र विधान कार्कीले गोल गरेका थिए भने प्रज्ञान ढुंगाना र निखिल बोहरा गोल गर्न असफल रहे । उक्त खेलको उत्कृष्ट खेलाडी प्रभात सेकेण्डरीका गोलरक्षक सिमोन विष्ट भए ।

यसैगरी दोस्रो क्वार्टरफाइनल खेलमा पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङ र आयोजक टिम नेपाल पुलिस स्कुल धरान (नीलो) बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेल ट्राइब्रेकरमा पुगेको थियो, जहाँ पिनाकल ज्ञान मन्दिरले ४–३ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्‍यो ।

ट्राइब्रेकरमा पिनाकल ज्ञान मन्दिरका सन्दीप मगर, असिम गुरुङ, लक्ष्मण तामाङ र सक्षमराज थापाले गोल गरे भने नायोम लावतीको प्रहार बाहिरियो । नेपाल पुलिस स्कुल धरान (नीलो) का तर्फबाट जोनेश राई, स्वर्णिम याखा र स्वप्निल याखाले गोल गरे भने उज्ज्वल घतानी र यारिन भुजेलको प्रहार बाहिरिएको थियो । खेलको उत्कृष्ट खेलाडी पिनाकल ज्ञान मन्दिरका नायोम लावती भए ।

क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएसँगै अब प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार  दिउँसो १ बजे नेपाल पुलिस स्कुल धरान (रातो) र सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा मोरङबीच हुनेछ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully