सूर्य नेपाल सेन्ट्रल ओपन : साबिक विजेता राहुलको अग्रता

गोकर्ण गल्फ क्लबमा राहुल विश्वकर्माले ६ अन्डर ६६ को उत्कृष्ट स्कोरमा प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई पछि पारेका हुन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Surya Nepal Central Open: Defending champion Rahul leads

What you should know

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले सोमबार सुरु सूर्य नेपाल सेन्ट्रल ओपन गल्फमा ५ स्ट्रोकको अग्रता लिएका छन् ।

गोकर्ण गल्फ क्लबमा राहुलले ६ अन्डर ६६ को उत्कृष्ट स्कोरमा प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई पछि पारेका हुन् । जयराम १ अन्डर ७१ को स्कोरसहित दोस्रो स्थानमा छन् । अर्का एमेच्योर साम डोबलार्ड इभन–पार ७२ स्कोरसहित तेस्रो स्थानमा छन् । यो सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजनको पहिलो प्रतियोगिता हो ।

१ ओभर ७३ को स्कोरमा भुवनकुमार रोक्का, सबिन सापकोटा, भुवन नगरकोटी, दिनेश प्रजापति, प्रदीपकुमार लामा र एमेच्योर फुन्सो नोर्बु लामाले संयुक्त चौथो स्थान ओगटेका छन् । २ ओभर ७४ को स्कोरमा टासी घले, बलभद्र राई, तोरणविक्रम शाही, दीपक मगर, एमेच्योर कवि थापा संयुक्त दसौं स्थानमा छन् । टासीले पाँचौं होलमा होल–इन–वानको सफलता पाए ।

दिनको उत्कृष्ट स्कोर कार्ड निकाल्ने क्रममा राहुलले फ्रन्ट र ब्याक नाइन दुवै ३ अन्डर ३३ मा सके । उनले दोस्रो, तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक शट खेर फाले । यसपछि १०, १२ र १५ औं होलमा पनि बर्डीको सफलता पाए ।

जयरामले दिनको सुरुवात बोगीबाट गरे । यसपछि सातौं र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन १ अन्डर ३५ मा सके । यसपछि १४ औं होलमा डबल बोगी र १६ औं होलमा बोगी खेपे । तर ११, १७ र १८ औं होलमा एक–एक शट बचाएर ब्याकनाइन इभन–पार ३६ मा पूरा गरे । एमेच्योर सामले तेस्रो र नवौं होलमा बर्डी प्रहार गरे पनि सातौं होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरे । उनले फ्रन्टनाइन १ ओभर ३७ खेले । १७ औं होलको बोगीले ब्याकनाइन १ अन्डर ३५ मा पूरा गरे ।

नेपाल नम्बर एक प्रोफेसनल गल्फर नीरज तामाङले भने ५ ओभर ७७ को खराब प्रदर्शन गरे । पशुपति शर्माले स्वास्थ्यका कारण आठौं होलपछि खेल त्यागेका थिए ।

दोस्रो दिनको समाप्तिमा शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउने छन् । उनीहरूबीच अन्तिम दुई दिन उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । ७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २६ एमेच्योर खेलाडीको सहभागिता छ । प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार हुँदा विजेताले १ लाख ७० हजार जित्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully