लगातार तीन वर्ष शिल्ड जितेको फिदिम माविले फिदिम नगरपालिकाबाट नगद ३ लाख रुपैयाँ प्रोत्साहन पुरस्कारसमेत प्राप्त गरेको छ ।
पाँचथर — सातौं राष्ट्रपति रनिङ शिल्ड फिदिम माध्यमिक विद्यालयले जितेको छ । लगातार चौथो पटक नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड उक्त विद्यालयले जितेको हो ।
५२ विधामा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा फिदिम मावि एक्लैले ३३ स्वर्ण, १० रजत र ११ काँस्य पदक जित्यो ।
यस्तै रानिटार माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र ६ काँस्य पदक जित्दै दोस्रो भयो । ९ स्वर्ण, १२ रजत र ६ काँस्य पदक जित्दै सिद्धदेवी माध्यमिक विद्यालय नांगीन तेस्रो भयो ।
फिदिम माविले यसअघि चौथो, पाँचौ र छैटौं संस्करण जितेको थियो । लगातार तीन वर्ष शिल्ड जितेको फिदिम माविले फिदिम नगरपालिकाबाट नगद ३ लाख रुपैयाँ प्रोत्साहन पुरस्कारसमेत प्राप्त गरेको छ । यस्तै यो वर्ष विजेता बन्दा थप ३० हजार रुपैयाँ प्रोत्साहन नगरपालिकाले प्राप्त गर्दा दोस्रो भएको रानिटारले २० हजार र तेस्रो भएको सिद्धदेवी मावि नांगिनले १० हजार प्रोत्साहन रकम प्राप्त गर्यो ।
रनिङ शिल्डमा विजेता, उपविजेता, विद्यालयका शिक्षक र खेलाडीलाई प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले उपप्रमुख राधाकृष्ण न्यौपाने, शिक्षा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललगायतले शिल्ड, पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
