खेलकुदको भावी योजना तय गर्दै सकियो नेपाल ओलम्पिक कमिटीको साधारणसभा

२३ संघका प्रतिनिधिको सहभागितामा सम्पन्न सभाले एसियाली खेलकुद, युथ ओलम्पिक लगायतका तयारी र नयाँ कार्यक्रमहरूको अनुमोदन गरेको छ ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Nepal Olympic Committee general meeting concludes, setting future plans for sports

What you should know

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को २१ औं साधारणसभा सोमबार सम्पन्न भएको छ ।

अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गरे । आन्तरिक लेखापरिक्षक रविन भुसालले २०८१/२०८२ को आर्थिक विवरण प्रस्तुत गरे । कोषाध्यक्ष टासी घलेको प्रतिनिधित्व गर्दै प्रमुख लेखापाल राजन श्रेष्ठले सन् २०२६ को वार्षिक बजेट प्रस्तुत गरे भने कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराए । त्यसअनुसार अबको वर्षमा चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता रहेका छन् ।

प्रतियोगिता जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आर्ट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुने बिच गेम्स रहेका छन् । यस्तै, ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस् कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तर्राष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन् ।

त्यसै अवसरमा पूर्वखेलाडी तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस् (पीएमसी) गठनका लागि प्रस्ताव गरिएको छ । साधारणसभाले जेन-जी आन्दोलनमा सहिद हुनेलाई श्रद्धान्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद्‍ले एसियाली खेलकुदमा सहभागी हुने गरेको निर्णयको स्वागत गरेको छ ।

साधारणसभाले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ । कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो । साधारणसभामा कुल २३ संघका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully