लालीगुराँस क्वार्टरफाइनलमा, ठडाराई एपीएफसँग भिड्ने

आयोजक त्रिवेणी क्लबका अध्यक्ष टेकजङ गुरुङका अनुसार मंगलबार लाङ्दीदेवी नाल्मा र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। तमू ल्होसारका कारण मंगलबार एक खेल मात्र हुने र साँझ ‘त्रिवेणी साँझ’ आयोजना गरिनेछ।

पुस १४, २०८२

आश गुरुङ

Laligurans in quarterfinals, will face Thadarai APF

What you should know

लमजुङ — लालीगुराँस युवा क्लब भुजुङले ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लब, ललितपुरलाई पराजित गर्दै लमजुङमा जारी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बेसीसहरको सहजीस्थित खेलमैदानमा सोमबार सम्पन्न खेलमा लालीगुराँसले सातदोबाटोलाई २–१ ले हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो।

लालीगुराँसको जितमा अनिश महर्जन र विदेशी खेलाडी अजायी मार्टिन कायोडले एक–एक गोल गरे। खेलको ४२औँ मिनेटमा अनिशले गोल गर्दै लालीगुराँसलाई अग्रता दिलाए। दोस्रो हाफको दोस्रो मिनेटमै सातदोबाटोका अमन लामाले बराबरी गोल फर्काए पनि ८०औँ मिनेटमा अजायीले निर्णायक गोल गरेपछि लालीगुराँसको क्वार्टरफाइनल यात्रा पक्का भयो।

अब लालीगुराँसले सेमिफाइनल प्रवेशका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र बुद्ध युथ क्लब भोटेओडारबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा विदेशी खेलाडी अजायी मार्टिन कायोड म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

सोमबारकै दोस्रो खेलबाट ठडाराई समाज काठमाडौं सेमिफाइनल प्रवेशका लागि साविक विजेता एपीएफ क्लबसँग भिड्ने पक्का भएको छ। समाज कल्याण काठमाडौंसँग निर्धारित समयमा गोलरहित बराबरी भएपछि भएको टाइब्रेकरमा ठडाराईले ४–२ को जित निकाल्दै एपीएफसँगको भेट सुनिश्चित गरेको हो।

टाइब्रेकरमा ठडाराईका आशिष चापागाईं, शिशिर लेखी, विदेशी खेलाडी देव र करिमले गोल गरे। समाज कल्याणका राम थामी र दीपेश गुरुङले गोल गरे भने निरोज परियार र पुष्कर खड्का गोल गर्न असफल भए।

यसअघि एपीएफ क्लबले सुन्दरबजारलाई पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । यो खेलमा ठडराइका गोल किपर टेकेन्द्र थापा म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पाए । 

आयोजक त्रिवेणी क्लबका अध्यक्ष टेकजङ गुरुङका अनुसार मंगलबार बिहान ९ बजे लाङ्दीदेवी नाल्मा र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। तमू ल्होसारका कारण मंगलबार एक खेल मात्र हुने र साँझ ‘त्रिवेणी साँझ’ आयोजना गरिने आयोजकले जनाएको छ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully