माछापुच्छ्रे कप टेनिसमा कमल थापालाई दोहोरो उपाधि

प्रदीप खड्का र आयुष्मान हजुर घलेलाई मेन्स डबल्सतर्फको उपाधि  ।

पुस १४, २०८२

दीपक परियार

Kamal Thapa wins double title in Machhapuchhre Cup tennis

What you should know

पोखरा — पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा राप्रपा नेतासमेत रहेका कमल थापाले दोहोरो उपाधि जितेका छन् । उनले पोखरा रंगशाला टेनिस कम्प्लेक्समा सोमबार ६५ वर्षमाथिको एकल र डबल्सतर्फको उपाधि जितेका हुन् ।

उनले एकलतर्फ पोखराका पदम गुरुङलाई ४–२ र ४–० को सेटमा पराजित गरे । डबल्सतर्फ छ्याम्बा ढुन्डुपलाई जोडी बनाएका उनले ध्रुव गुरुङ र विदुर विष्टको जोडीलाई ४–१ र ४–१ को सटेमा पराजित गर्दै उपाधि जिते ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत खुलातर्फ मेन्स डबल्स उपाधि प्रदीप खड्का र आयुषमान हजुर घलेको जोडीले जितेको छ । सोमबार भएको फाइनल खेलमा उक्त जोडीले नेहाल जंगबहादुर थापा र राजवीर प्रधानको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

३५ वर्षमाथिको मेन्स डबल्समा जितेन्द्र परियार र कुमार अधिकारीको जोडीले उपाधि जिते । फाइनलमा सन्तोष खत्री र भीष्मजंग गुरुङको जोडीलाई ६–४ र ६–२ को सेटमा पराजित गर्दै जितेन्द्रको जोडीले उक्त उपाधि रक्षा गरेको हो । ४५ वर्षमाथिको मेन्स डबल्सतर्फ देव क्षेत्री र हिमाल शाहको जोडी पहिलो भयो । यो जोडीले फाइनल खेलमा रोहित सुनुवार र जोली टार्गेनको जोडीमाथि ६–२ र ३–६ र सुपरटाइमा १०–५ को रोचक जित निकालेको हो ।

५५ वर्षमाथिको डबल्स उपाधि उत्तमकुमार लामा र जितेन्द्र प्रधानको जोडीले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीमाथि ४–६, ७–६ र ११–९ को नतिजा निकाल्दै उक्त जोडीले उपाधि रक्षा गरेको हो । एकलतर्फ प्रदीप खड्काले प्रितम परियारलाई, आयुषमान हजुर घलेले नेहाल जंगबहादुर थापालाई, करणबहादुर थापाले दर्शिल श्रेष्ठलाई तथा राजवीर प्रधानले उगेन शेर्पालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाए ।

३५ वर्षमाथिको मेन्स सिंगल्समा जितेन्द्र परियारले अनिल शाहीलाई, भीष्मजंग गुरुङले सोम रानालाई, प्रेम नोर्गुले विकास खड्कालाई तथा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully