मंगलबार प्रभात सेकेण्डरी इङ्लिस स्कुल धरान र दिल्ली पब्लिक स्कुल विराटनगरबीच एवं पिनाकल ज्ञान मन्दिर कानेपोखरी र नेपाल पुलिस स्कुल धरान (नीलो) बीच हुनेछ।
What you should know
धरान — सातौँ कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिताको सोमबारको खेलमा आयोजक नेपाल पुलिस स्कुल (रातो) र सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा सेमिफाइनलमा प्रवेश गरेका छन्।
धरानस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुल (रातो) ले निधि सेकेण्डरी स्कुल बिर्तामोड, झापालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलको पहिलो हाफको ९ औं मिनेटमा आदर्श मेचेले गोल गर्दै निधिलाई अग्रता दिलाएका थिए । तर २४औं मिनेटमा पुलिसका उज्वल थापाले हेडिङमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफको ४५औं मिनेटमा कप्तान समिर राईले निर्णायक गोल गर्दै पुलिसलाई सेमिफाइनलमा पुर्याए। खेलको म्यान अफ दी म्याच समिर राई भए ।
त्यसैगरी दोस्रो क्वार्टरफाइनल खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचाले धरानको माउण्ट हर्मन एकेडेमीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट नतिजा निकालिएको थियो । सिद्धार्थका तर्फबाट अनिष राई, निपेश तामाङ र कमल कार्कीले गोल गरे भने जेनिष देवान र आयुष लिम्बूको प्रहार पोस्टबाट बाहिरिएको थियो । माउण्ट हर्मन एकेडेमीका तर्फबाट सुदिन तामाङ र प्रिन्स विष्टले मात्र गोल गर्न सफल भए । सिकुम लिम्बू, राजदीप तामाङ र सुवर्ण लोहनी गोल गर्न असफल भएपछि माउण्ट हर्मनको यात्रा क्वार्टरफाइनलमै टुंगिएको हो । खेलको म्यान अफ दी म्याच सिद्धार्थका गोलरक्षक आयुष लिम्बू भए ।
मंगलबार हुने तेस्रो क्वार्टरफाइनल खेल प्रभात सेकेण्डरी इङ्लिस स्कुल धरान र दिल्ली पब्लिक स्कुल विराटनगर मोरङबीच दिउँसो १ बजे हुनेछ भने चौथो क्वार्टरफाइनल खेल पिनाकल ज्ञान मन्दिर कानेपोखरी र नेपाल पुलिस स्कुल धरान (नीलो) बीच दिउँसो साढे २ बजे हुनेछ।
