दोस्रो खेलमा घरेलु टोली लमजुङ मर्स्याङ्दीले सूर्यपुर चितवनलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।
What you should know
लमजुङ — लमजुङमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३औं संस्करणमा एनआरटी र लमजुङ मर्स्याङ्दी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बेंसीसहरको सहजीस्थित खेलमैदानमा आइतबार भएको पहिलो खेलमा एनआरटीले भानु युनाइटेड (चक्रपथ, काठमाडौं) लाई १–० गोलले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्यो ।
एनआरटीको जितमा चेतन चौधरी निर्णायक बने । उनले खेलको पहिलो हाफको ११औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उत्कृष्ट प्रदर्शन गरेका चेतनले म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा घरेलु टोली लमजुङ मर्स्याङ्दीले सूर्यपुर चितवनलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । पहिलो हाफको इन्जुरी समयमा समीर तामाङले गोल गर्दै लमजुङ मर्स्याङ्दीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको २०औं मिनेटमा एरोन थापाले अर्को गोल थपे । सूर्यपुर चितवन गोलरहित रहृयो । उक्त खेलमा समीर तामाङ म्यान अफ द म्याच घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल सातदोबाटो फुटबल क्लब र लालीगुराँस युवा क्लब भुजुङबीच बिहान ११ बजे हुनेछ । दोस्रो खेल ठडराई समाज र समाज कल्याण काठमाडौंबीच दिउँसो २ बजे हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई ६ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र दिइनेछ ।
गत वर्ष सेमिफाइनलमा पराजित दुई टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार भने यस वर्षदेखि हटाइएको आयोजकले जनाएको छ ।
