सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन : पहिलो स्पर्धा सेन्ट्रल ओपन सोमबार सुरु

आठ प्रतियोगिताका लागि कुल ८० लाख १० हजार नगद पुरस्कार राशि रहने एनपीजीएका महासचिव दीपक आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

New season of Surya Nepal Golf Tour: First event Central Open begins on Monday

What you should know

काठमाडौँ — नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) को आयोजनामा सूर्य नेपाल गल्फ टुर २०२५–०२६ को नयाँ सिजन सुरु हुँदै छ । यो सिजनमा कुल ८ प्रतियोगिता हुनेछ ।

आठ प्रतियोगिताका लागि कुल ८० लाख १० हजार नगद पुरस्कार राशि रहने एनपीजीएका महासचिव दीपक आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । गत सिजनमा यो पुरस्कार राशि ६७ लाख ३२ हजार थियो । १२ लाख ७८ हजार वृद्धि गरिएको आचार्यले बताए ।

नयाँ सिजनको सुरुआत सूर्य नेपाल सेन्ट्रल ओपन गल्फबाट हुनेछ । यो प्रतियोगिता गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु हुनेछ । चार दिने प्रतियोगितामा नेपालका शीर्ष व्यावसायिक र एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

७२ होलको प्रतिस्पर्धामा दोस्रो दिन अर्थात् ३६ होलको खेलपछि कट हुनेछ । ३६ होलको समाप्तिमा शीर्ष १८ प्रो र एमेच्योरले कट बनाउने छन् । उनीहरूबीच अन्तिम दुई दिन उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो पटक शीर्ष १८ मा कट हुन लागेको हो । यसअघि २१ औं स्थानसम्म आउनेले कट बनाउँथ्यो ।

सेन्ट्रल ओपनको कुल पुरस्कार राशि १० लाख ५० हजार रहेको छ । विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार, तेस्रो हुनेले १ लाख, चौथोले ८२ हजार र पाँचौं हुने खेलाडीले ७२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले नगद पाउनेछन् ।

यो सिजनका नम्बर एक गल्फर नीरज तामाङ, डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर राहुल विश्वकर्मा, अनुभवी भुवन नगरकोटी, तोरणविक्रम शाही, दिनेश प्रजापति, सञ्जय लामा र रवि खड्का प्रमुख दाबेदारका रूपमा रहनेछन् । 

सन् २००८–०९ मा सुरु भएको सूर्य नेपाल गल्फ टुरको यो १९ औं संस्करण हो । एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले विज्ञप्तिमार्फत नयाँ सिजनको उत्साह व्यक्त गर्दै सूर्य नेपाल गल्फ टुरले आफ्नो १९ औं वर्षमा प्रवेश गरेको र यसले नेपालको गल्फको विकासमा उल्लेखनीय भूमिका खेलेको बताए । श्रेष्ठले टुरले व्यावसायिक र एमेच्योर खेलाडीलाई प्रेरित गर्नुका साथै नयाँ प्रतिभालाई अगाडि बढ्ने प्लेफर्म दिएको बताए । 

सूर्य नेपाल गल्फ टुरअन्तर्गत हुने आठ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा आयोजना हुनेछ । 

यस सेन्ट्रल ओपनसहित सूर्य नेपाल इस्टर्न ओपन धरान गल्फ क्लबमा जनवरी १४ देखि १७ सम्म हुनेछ । एनपीजीए टुर च्याम्पियनसिप बर्दिवासको नवनिर्मित आर्मी गल्फ कोर्समा हुनेछ । यो कोर्समा टुरको कुनै पनि प्रतियोगिता हुन लागेको पहिलो पटक हो । यो जनवरी २७ देखि २९ सम्म हुने तय भएको एनपीजीएले जनाएको छ ।

सूर्य नेपाल काठमाडौं ओपन भने रोयल नेपाल गल्फ क्लबमा फेब्रुअरी १० देखि १३ सम्म चल्दा वेस्टर्न ओपन पोखराको हिमालयन गल्फ क्लबमा मार्च ४ देखि ७ सम्म हुने तालिका छ । सूर्य नेपाल एनपीजीए म्याच प्ले पनि रोयल नेपाल गल्फ क्लबमै हुनेछ । नकआउटको आधारमा हुने यो प्रतियोगिता अरू सात प्रतियोगिताभन्दा फरक हुनेछ । यसमा अर्डर अफ मेरिटका उत्कृष्ट १६ खेलाडीले खेल्न पाउँछन् । यो अप्रिल ७ देखि ९ सम्म हुनेछ ।

सूर्य नेपाल च्यालेन्ज मे ५ देखि ८ सम्म रोयल नेपाल गल्फ क्लबमा र सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जुन २ देखि ६ सम्म हुने तालिका छ । यो सिजनको सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता हुनेछ । यसको कुल पुरस्कार राशि १८ लाख रहने महासचिव आचार्यले जानकारी गराए ।

कान्तिपुर संवाददाता

Link copied successfully