चन्द्रपुर–८ स्थित कोटिहोम खेल मैदानमा आइतबार फाइनलमा देवीपुर रोयल्सलाई चमनपुर सुपर किंग्सले ६ विकेटले पराजित गर्यो ।
What you should know
रौतहट — चमनपुर सुपर किंग्स चन्द्रपुर मेयर कप लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको विजेता बनेको छ । चमनपुरले चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा आइतबार फाइनलमा देवीपुर रोयल्सलाई ६ विकेटले पराजित गर्यो ।
चन्द्रपुर युवा क्लबले आयोजना गरेको प्रतियोगितामा टस जितेर ब्याटिङमा आएको देवीपुरले सुरुको पावर प्लेमा खासै रन बनाउन सकेन । देवीपुरका ओपनर ब्याट्सम्यान मयन यादव र साहिल पटेलको जोडी जम्न सकेनन् । मयन ७ बल खेलेर ६ रनमै विशाल पटेलको बलिङमा क्याच भए । साहिलले २६ बल खेलेर ३९ रन बनाए ।
अभिषेक रौनियारले १९ बल खेलेर अविजित १८, कप्तान विशाल सुस्लिङ १७ बल खेलेर ११, रियाज आलमले पनि १७ बल खेलेर ११, दिनेश बोहरा १३ बल खेलेर ८ तथा रामचन्द्र धामीले ६ बलमा ५ र अर्जुन घर्तीले ५ बलमा ५ रन बनाए । देवीपुरले ६ विकेट गुमाई १ सय १२ रन बनाएको थियो । चमनपुरका राजेश यादव र निर्मल गुरुङले २–२ तथा विशाल पटेल र रञ्जित कुमारले १–१ विकेट पाए ।
एमडी समीरले अविजित ३ चौका १ छक्का प्रहार गरेपछि चमनपुरले १४.५ ओभरमै लक्ष्य पूरा गर्यो । एमडी समीरलाई अन्तिमसम्म क्रिजमा साथ दिँदै विशाल पटेलले १४ बल खेलेर अविजित २० रन बनाए । चमनपुर पहिलो पटक विजेता बनेको हो । यसअघिको मेयर कपको पहिलो संस्करणमा भारतको मुजफफरपुर क्रिकेट टिम बिजयी भएको थियो । उपाधिसँगै चमनपुरले ५ लाख र उपविजेता देवीपुरले २ लाख पायो ।
ओपनर प्रज्वल थापा १६ बल खेलेर २३ र अभिषेक तिवारीले १५ बलमा २१ रन बनाए । देवीपुरका दिनेश बोहराले २ तथा रियाज आलम र रैयन आलमले १–१ विकेट लिए । ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिएका चमनपुरका निर्मल गुरुङ प्लेयर अफ द म्याच बने । देवीपुरका अर्जुन घर्ती उत्कृष्ट ब्याटर, चमनपुरका विशाल पटेल उत्कृष्ट बलर बने । प्लेयर अफ द टुर्नामेन्ट समनपुर बोल्ट्सका सुमित श्रेष्ठ भए । विजेता, उपविजेतालाई चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले ट्रफी, नगद र प्रमाणपत्र प्रदान गरे ।
