एनपीएल ट्रफी लिएर गुल्मी आइपुग्यो लुम्बिनी लायन्स, रेसुंगा क्षेत्रमा नगरको सम्मान

रेसुंगा माध्यमिक विद्यालयका विद्यार्थीको बाजागाजा टोलीसहित नगरपालिकाले रेसुंगा क्षेत्रमै पुगेर भव्य स्वागत तथा सम्मान गरेका हुन् ।

पुस १३, २०८२

सन्तोष महतारा

Lumbini Lions arrive in Gulmi with NPL trophy, city honors Resunga area

गुल्मी — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली लुम्बिनी लायन्स ट्रफी लिएर गुल्मी आइपुगेको छ ।

शनिबार साँझ गुल्मी आइपुगेको ट्रफी आइतबार बिहान धार्मिक तथा पर्यटकीय प्रसिद्ध स्थल रेसुंगा यज्ञशालामा प्रदर्शन गरिएको छ ।

ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपीएलको ट्रफी प्राप्त गर्न सफल टोलीलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।

रेसुंगा माध्यमिक विद्यालयका विद्यार्थीको बाजागाजा टोलीसहित नगरपालिकाले रेसुंगा क्षेत्रमै पुगेर भव्य स्वागत तथा सम्मान गरेका हुन् ।

ट्रफी सहितको लुम्बिनी लायन्स टोलीमा गुल्मेली खेलाडी बलर तिलकराज भण्डारी पनि सहभागी छन् । बैशाख २५ गते नगर स्थापना दिवसको अवसरमा खेलाडी भण्डारीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गर्ने नगरप्रमुख खिलध्वज पन्थीले घोषणा गरे । 

तिलकराज भण्डारीले गुल्मी जिल्लासँग जोडिएर क्रिकेट खेल्न पाउनु गर्वको कुरा भएको बताए । उनले निमन्त्रणा गरेकोमा सबैलाई धन्यवाद दिए ।

रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले खेलप्रति आकर्षण र खेलाडीको सम्मानका लागि समग्र खेलकुदको विकासलाई अगाडि बढाइएको बताए । ‘लुम्बिनी लायन्सले एनपीएल ट्रफी जित्नु लुम्बिनीबासीकै लागि गौरवको कुरा हो’, उनले भने, ‘यसरी जिल्लाजिल्लाका सम्मान गर्नुले यसको उचाई अझै बढ्छ ।’

उनले पवित्र धार्मिक भूमि रेसुंगा यज्ञशालामा ट्रफी प्रदर्शन गर्ने मौका दिएकोमा लुम्बिनी लायन्सलाई धन्यवाद दिए । यसपछि लुम्बिनी लायन्सले सदरमुकाम तम्घास हुँदै रिडी निस्किएर पाल्पाको यात्रा तय गर्नेछ ।

सन्तोष महतारा

Link copied successfully