सोमबार पहिलो क्वार्टर फाइनल नेपाल पुलिस स्कुल (रातो) र निधि सेकेण्डरी स्कुल विर्तामोडबीच र दोस्रो क्वार्टर फाइनल सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा, मोरङ र माउन्ट हर्मन एकेडेमी धरानबीच प्रतिस्पर्धा हुनेछ ।
What you should know
धरान — कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डीआईजीपी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणअन्तर्गत पाँचौँ दिन सम्पन्न खेलबाट पिनाकल ज्ञान मन्दिर मोरङ र नेपाल पुलिस स्कुल (नीलो) क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको पहिलो खेलमा पिनाकल ज्ञान मन्दिर मोरङले प्रतिस्पर्धी टिमलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा यात्रा तय गरेको हो ।
पिनाकल स्कुलका सक्षम राज थापाले दोस्रो हाफको १९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पिनाकलका निहाङ राई 'म्यान अफ द म्याच' घोषित भएका छन् । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस स्कुल (नीलो) ले डिपोट स्कुल धरानलाई ट्राइबेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा नेपाल पुलिस स्कुल (नीलो) का जोनेश राई, स्वर्णिम याक्खा, स्वपिनल याक्खा र उज्ज्वल घतानीले गोल गरे । डिपोट स्कुलका आयन लिम्बुले एक गोल गरे भने जोन लिम्बु र बचन राईको प्रहार सफल हुन सकेन । उक्त खेलमा नेपाल पुलिस स्कुलका प्रतीक जङ्ग बस्नेत 'म्यान अफ द म्याच' घोषित भएका छन् । उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणको सम्पूर्ण खेल सम्पन्न भएको छ । सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा नेपाल पुलिस स्कुल (रातो) र निधि सेकेण्डरी स्कुल विर्तामोडबीच दिउँसो १ बजे भने दोस्रो क्वार्टर फाइनल खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा, मोरङ र माउन्ट हर्मन एकेडेमी धरानबीच दिउँसो साढे २ बजे खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेशका १६ वटा विद्यालयको सहभागिता रहेको छ ।
