भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा चितवन क्रिकेट क्लबले एपीएफमाथि १ विकेटको रोमाञ्चक जित हात पार्यो ।
What you should know
चितवन — नेपाल एपीएफ क्लबविरुद्ध रोमाञ्चक जित हात पार्दै घरेलु टोली चितवन क्रिकेट क्लबले इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि उचालेको छ ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा एपीएफमाथि १ विकेटको रोमाञ्चक जित हात पार्यो ।
चितवनले नगद ४ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेतामा एपीएफले नगद २ लाख रुपैयाँ प्राप्त गर्यो । १ सय ४४ रनको लक्ष्य चितवनले एक बल अगाडि पूरा गर्यो ।
चितवनलाई जितका लागि अन्तिम ओभरमा ७ रन आवश्यक छँदा २ विकेट हातमा थियो । अन्तिम ओभरको पहिलो बलमा गौतम केसी रनआउट भएपछि चितवन पूरै दबाबमा परेको थियो । अन्तिम बलमा ४ रन जरुरी परेको बेला विपिन खत्रीले दिनेश अधिकारीलाई छक्का प्रहार गर्दै चितवनलाई ऐतिहासिक जित दिलाए ।
चितवनले इनिङ्सको चौथो बलमा खाता नखोल्दै रोशन झालाई गुमाएपछि दबाबमा आएको थियो । दोस्रो विकेटका लागि दीपकप्रसाद डुम्रे र शुभ कंसकारले ९५ रनको महत्त्वपूर्ण साझेदारी गर्दै चितवनलाई विजयतर्फ डोर्याए । शुभ कंसकारले ३७ बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै ६७ रन बनाए भने दीपकले ३ छक्का र एक चौका प्रहार गर्दै ३७ रन बनाए । चितवनका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । एपीएफका इर्शाद अहमदले ४ ओभरमा १८ रन खर्चिंदै ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । अविशेष गौतम र दिवान पुनले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले दीपक बोहराको ४७ रनको मद्दतमा ६ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । दीपकले ३५ बल खेली २ छक्का र ५ चौका प्रहार गरे । सुमित महर्जनले २८, अमरसिंह रौटेलाले २५ र सलहुदिन खानले २२ रन बनाए । दीपक बोहरा र सुमित महर्जनले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे पनि एपीएफले ठूलो स्कोर बनाउन सकेन ।
चितवनका दीपेश कँडेलले ४ ओभरमा २८ रन खर्चिंदै २ तथा विपिन खत्री, नरेश प्रधान र दीपेश श्रेष्ठले १–१ विकेट लिए । चितवनलाई जिताउन महत्त्वपूर्ण अर्धशतक प्रहार गरेका शुभ कंसकार प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र अन्य उपहार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भए । उनले प्रतियोगितामा अलराउन्डर प्रदर्शन गर्दै ३ सय १० रन र ६ विकेट लिएका थिए । दासले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर दिल्ली वन्डर्सका मोहम्मद कैफ र उत्कृष्ट बलर चितवन क्रिकेट क्लबका दीपेश कँडेल घोषित भए । कैफले ३ सय १८ रन र दीपेशले १६ विकेट लिएका थिए । उनीहरूले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा दिल्लीलाई आर्मीले पराजित गर्यो । पहिला ब्याटिङ गरेको आर्मीले ७ विकेटको क्षतिमा १ सय ९७ रन बनायो । तृतले ७३, जितेन्द्रसिंह ठकुरीले ३७ र दुर्गेश गुप्ताले २१ रन बनाए । दिल्लीका हर्षित सेट्ठीले ४, कैफले २ र प्रदीप यादवले १ विकेट लिए ।
दिल्लीले ९ विकेट गुमाई १ सय ५६ रन मात्रै बनाएपछि आर्मी ३६ रनले विजयी भयो । दिल्लीका हर्षित सेट्ठीले ६७ रन बनाए । तृत प्लेयर अफ द म्याच घोषित भए । आर्मीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष उमेश पियाले विजयी खेलाडीलाई पुरस्कृत गरे ।
