चितवन र एपीएफ क्लब इन्डो-नेपाल टी-२० फाइनलमा

एपीएफले भारतको दिल्ली वन्डर्स क्रिकेट क्लबलाई १ सय २५ रन र चितवनले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पुस १३, २०८२

राजु चौधरी

Chitwan and APF Club advance to Indo-Nepal T20 final

What you should know

चितवन — विभागीय टोली एपीएफ क्लब र घरेलु टोली चितवन क्रिकेट क्लब शनिबार इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको फाइनल पुगेका छन् । उपाधि भिडन्त आइतबार हुनेछ ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा एपीएफले भारतको दिल्ली वन्डर्स क्रिकेट क्लबलाई १ सय २५ रन र चितवनले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

पहिलो सेमिफाइनलमा दीपक बोहरा, प्रज्वल शाही र कप्तान सुमित महर्जनको अर्धशतकमा एपीएफले ४ विकेट गुमाई २ सय ५० रनको विशाल योगफल बनाएको थियो । दीपक ९७ रन बनाएर हर्षित सेठ्ठीको बलमा क्याचआउट भए । उनले ५१ बलमा ९ छक्का र ५ चौका प्रहार गरे । प्रज्वलले ३४ बलमा ६ छक्का र ६ चौकासहित ७५ र सुमितले २७ बलमा ८ छक्का र एक चौकासहित ६५ रन बनाए । हर्षितले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए भने विवेक धामीले एक विकेट लिए । 

जवाफमा दिल्ली १५.४ ओभरमा १ सय २५ रनमै अलआउट भयो । विशाल पाण्डेको अविजित ४० रन नै ठूलो स्कोर थियो । उनले ३३ बलमा ४ छक्का र ३ चौका प्रहार गरे । अंकुर कौशिकले २५ र मोहम्मद कैफले १९ रन बनाए । दिल्लीलाई सस्तैमा अलआउट गर्न अभिषेक गौतमले ह्याट्रिकसहित ५ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चिए । उनले सातौं ओभरमा भरपर्दा ब्याटर मोहम्मद कैफ, दुश्यन्त राघभ र निशान्त यादवको विकेट लिँदै ह्याट्रिक पूरा गरे । दिनेश अधिकारीले २, भुवन कार्की र सलहुदिन खानले १–१ विकेट लिए । एपीएफका दीपक बोहरा प्लेयर अफ द म्याच भए । 

अर्को सेमिफाइनलमा घरेलु टोली चितवनले १ सय ४० रनको लक्ष्य १३.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । दीपकप्रसाद डुम्रेले अविजित ३५ बलमा ५८ रन बनाए । शुभ कंशशकारले २६, सन्दीप केसीले अविजित २५ र रोशन झाले २४ रनको योगदान दिए । आर्मीका दुर्गेश गुप्ताले ३३ रन खर्चिंदै २ विकेट लिए । नरेन साउदको नाममा एक विकेट रह्यो । यसअघि टस जितेको आर्मी ९ विकेट गुमाई १ सय ३९ रन बनायो । तृतराज दासले ४० बलमा २ छक्का र ५ चौकाको सहयोगमा ४९ रन बनाए । उनी गौतम केसीको बलमा क्याच आउट हुँदै अर्धशतक बनाउनबाट चुके । पवन कार्कीले २४ रन जोडे । 

चितवनका दीपेश श्रेष्ठले ३३ रनमा ३ विकेट लिए भने नरेश प्रधानले २ विकेट, विपिन खत्री, दीपेश कँडेल र गौतम केसीले १–१ विकेट लिए । चितवनका दीपक डुम्रे प्लेयर अफ द म्याच भए ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully