डीभीएम कप अन्तरविद्यालय क्रिकेटमा आयोजकसहित ५ टिम क्वाटरफाइनलमा

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका विभिन्न १९ विद्यालयको सहभागिता रहेको छ ।

पुस १३, २०८२

अर्जुन सुवेदी

5 teams, including the host, advance to the quarterfinals of the DVM Cup inter-school cricket tournament

What you should know

सुनसरी — विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित सुनसरीमा जारी दोस्रो डीभीएम कप अन्तरविद्यालय क्रिकेटमा ५ टिमले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

 क्वाटरफाइनलको अन्तिम आठमा प्रवेश गर्ने तीन वटा टिम सोमाबर हुने सुष्मा गोदावरी स्कुल र सुनसरी क्रिष्टल एकेडेमीबीचको लिग चरणको अन्तिम खेलबाट टुंगो लाग्नेछ । इटहरी–९ स्थित नेपाल डीभीएम ग्लोबल एकेडेमीको पिचमा जारी प्रतियोगिता अन्तर्गत लिग चरणको खेलहरुमा समूह 'ए'को विजेता बन्दै आयोजक डीभीएम स्कुलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । उक्त समूहबाट सेन्डरफिट स्कुल र सेक्रेटहार्ट इंग्लिस स्कुल बाहिरिएका छन् । समूह 'बी'बाट आयोजककै अर्को टिम डीभीएम सगरमाथाले दुवै खेलमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको छ । उक्त समूहबाट इटहरी मोडेल र सुकुना सेकेन्डरी स्कुल लिग चरणबाटै बाहिरिएका छन् । सुनसरी रामधुनीको युनिक एकेडेमी समूह 'सी' विजेता र जनता मावि इटहरी समूह 'डी'को विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेका छन् । समूह 'सी'बाट माउन्ट मकालु र बालविकास स्कुल बाहिरिँदा समूह'डी'बाट ग्रीनपिस एकेडेमी र महेन्द्र मेमोरियल स्कुल लिग चरणबाटै घर फर्किएका छन् । समूह 'ई'बाट कोशी सेन्टजेम्स स्कुल विजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्दा विश्व आदर्श स्कुल र लिटिल फ्लावर इंग्लिस स्कुल बाहिरिएका छन् । क्वाटरफाइनल चरणका खेलहरु सोमबारबाट सुरु हुने प्रतियोगिता संयोजक क्षितिज दाहालले जानकारी दिए । 

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका विभिन्न १९ विद्यालयको सहभागिता रहेको छ । सुनसरीमा पहिलो पटक विद्यालयस्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ र विधागत उत्कृष्ट हुनेले २ हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस प्रतियोगितालाई आधार मानेर सुनसरी जिल्ला क्रिकेट संघले प्रतिभावान विद्यार्थीलाई समेटेर नयाँ टिम बनाउने र उनीहरुलाई आफ्नो क्रिकेट कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने क्यान सुनसरी अध्यक्ष सीपी पौडेलले जानकारी दिए ।

अर्जुन

Link copied successfully