बिदाको समयमा विद्यार्थीहरू खाली बस्ने हुँदा कुलतमा नलागून् र खेलप्रति आकर्षण बढोस् भन्ने उद्देश्यले क्याम्प सञ्चालन गर्न लागिएको हो ।
What you should know
काभ्रे — बनेपा फूटबल एकेडेमीले फूटबल सिक्न चाहने बालबालिकाका लागि विन्टर क्याम्प सञ्चालन गर्ने भएको छ । विद्यालयहरुमा जाडो बिदा हुने समय पारेर यही पुस १९ गतेदेखि १५ दिने क्याम्प सञ्चालन गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एकेडेमीका अध्यक्ष निरोज शाक्यले बिदाको समयमा विद्यार्थीहरू खाली बस्ने हुँदा कुलतमा नलागून् र खेलप्रति आकर्षण बढोस् भन्ने उद्देश्यले क्याम्प सञ्चालन गर्न लागिएको बताए । क्याम्पमा ८ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् । क्याम्पमा सहभागी हुन १५ सय रुपैयाँ शुल्क तोकिएको छ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शाक्यले राष्ट्रियस्तरका फूटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी स्थापना गरिएको बताए । जिल्लामै रहेका माउन्ट एभरेष्ट फूटबल क्लब र बनेपा फूटबल क्लब मिलेर २ वर्षअघि एकेडेमी स्थापना गरिएको हो । एकेडेमीमा दैनिक ६० जना बालबालिकाले प्रशिक्षण लिँदै आएका छन् ।
एकेडेमीका उपाध्यक्ष मनीष भोछिभोयाका अनुसार एकेडेमीमा प्रशिक्षण लिएका खेलाडीहरू सम्मिलित खेलाडीहरू सहभागी माउन्ट एभरेष्ट फुटबल क्लब२०८१ सालको जिल्ला लिगमा पहिलो र बनेपा फुटबल क्लब दोस्रो हुन सफल भएका थिए । यस्तै २०८० सालमा अण्डर १४ खेलाडी छनोटमा एकेडमीबाट ३ जना खेलाडी छनोट भएका थिए भने २०८१ को अण्डर १६ छनोटमा ४ जना खेलाडीहरू केन्द्रीय छनोटसम्म पुग्न सफल भएका थिए ।
पत्रकार सम्मेलनमा काभ्रे जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका एन्फाका केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठले जिल्ला फुटबल संघ र एन्फाले एकेडेमीलाई निरन्तर प्राविधिक सहयोग गर्दै आइरहेको बताए । यसप्रकारका गतिविधिले राष्ट्रिस्तरका खेलाडी उत्पादन गर्न मद्दत गर्ने भन्दै उनले प्रशिक्षणमा काभ्रे जिल्लाबाट राष्ट्रिय टिममा सहभागी भएका खेलाडीलाई पनि उपस्थित गराउन सके नयाँ खेलाडीलाई हौसला मिल्ने बताए ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले जिल्लामा फुटबल खेल लोकप्रिय भए पनि खेलाडीहरूलाई पर्याप्त प्रशिक्षण नभइरहेको अवस्थामा एकेडेमीले यस्ता क्याम्प सञ्चालन गर्नु सकारात्मक कार्य भएको बताए ।
