बेंसीसहरको सहजीस्थित खेलमैदानमा आयोजित प्रतिष्पर्धामा साविक विजेता एपीएफले सुन्दरबजार फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो ।
What you should know
लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा शनिबारदेखि सुरु भएको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करणमा विभागीय सशस्त्र प्रहरीको एपीएफ फुटवल क्लवले विजयी सुरुवात गरेको छ ।
बेंसीसहरको सहजीस्थित खेलमैदानमा आयोजित प्रतिष्पर्धामा साविक विजेता एपीएफले सुन्दरबजार फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो ।
पहिलो हाफको २० औं मिनेटमा एपीएफका समीर थोकरले गोलखाता खोले । उनले नै पहिलो हाफको ३० औं मिनेटमा थप गोल गरे । ३७ औं मिनेटमा प्रदीप लामाले १ गोल गरी एपीएफलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
दोस्रो हाफको १८ औं मिनेटमा मनि लामाले गोल गरे । दोस्रो हाफको २५ औं मिनेटमा पुनः गोल गर्दै समीर थोकरले हृयाट्रिक गरे । पहिलो गोल गरेबापत उनले लमजुङको भुजुङ घरभइ हङकङ बस्ने रामकुमार गुरुङका तर्फबाट नगद ५ हजार प्राप्त गरे । म्याद अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार रुपैयाँ पनि प्राप्त गरे ।
दुई जना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको सुन्दरबजार फुटबल क्लबले कुनै पनि गोल गर्न नसक्दा उनका समर्थक निराश बने । आइतबारको पहिलो खेल बिहान ११ बजे एनआरटी काठमाडौं र भानु युनाइटेड (चक्रपथ काठमाडौं) बीच हुनेछ । दिउँसो २ बजे सूर्यपूर चितवन र लमजुङ मर्स्याङ्दी युवा क्लब बेंसीसहर बीच हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले जानकारी दिए ।
विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५/२५ हजार पाउनेछन् । प्रतियोगितामा गत वर्ष सेमिफाइनलमा पराजित २ टीमलाई २/२ लाख रुपैयाँ दिँदै आएकोमा यस वर्षदेखि हटाइएको छ ।
पुस १५ गते तमू ल्होसारको साँझ आयोजना हुने त्रिवेणी साँझसमेत गरी प्रतियोगिता सञ्चालनका लागि १ करोड ३२ लाख ३५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले फुटबलको विकाससँगै भौतिक संरचनाको पनि विकास हुनुपर्नेमा जोड दिए ।
बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सहजीस्थित खेलमैदानको आवश्यक भौतिक संरचना निर्माणका लागि सर्वपक्षीय सहयोग आवश्यक रहेको बताए ।
