एथलेटिक्स संघद्वारा तीन खेलाडी सम्मानित

फिदिममा धावकहरु पुष्पा सेर्मा, ओसन राई र इन्द्रमाया जवेगू सम्मानित भएका हुन् ।

पुस १२, २०८२

लक्ष्मी गौतम

Three athletes honored by Athletics Association

पाँचथर — जिल्ला एथलेटिक्स संघ पाँचथरले तीन जना धावकलाई सम्मान गरेको छ ।

फिदिम नगरपालिका–४ मा सञ्चालन भइरहेको गढी माध्यमिक विद्यालयमा सार्वजनिक कार्यक्रम आयोजना गर्दै संघले धावकहरु पुष्पा सेर्मा, ओसन राई र इन्द्रमाया जवेगूलाई सम्मान गरेको हो ।

सम्मान गरिए मध्ये पुष्पा सेर्मा र ओसन राईले २०८१ सालमा सम्पन्न भएको कोशी महोत्सवमा ५ किलोमिटर दौडतर्फ रजत पदक प्राप्त गरेका थिए । जिल्ला सदस्य समेत रहेकी धावक इन्द्रमाया जवेगूले जिल्लामा ठूला साना म्याराथन प्रतियोगिता सञ्चालन गर्न आर्थिक, भौतिक र नैतिक सहयोग गरेकाले दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको संघका जिल्ला अध्यक्ष पूर्णहाङ तुम्वापो (रेञ्जो)ले जानकारी दिए ।

उनीहरूलाई प्रमुख अतिथिको आसनबाट जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले दोसल्ला र कदर पत्र अर्पण गर्दै सम्मान गरेका थिए ।

यसैबीच एथेलिटिक्स संघले आफ्नो तेस्रो बैठकमार्फत रिक्त जिल्ला सदस्य पदमा तितस राईलाई मनोनीत गरेको छ ।

संघले सोही अवसरमा गढी माध्यमिक विद्यालयमा अध्ययनरत २० जना छात्रछात्रालाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडा वितरण गरेको छ । कपडा जिल्ला सदस्य इन्द्रमाया जवेगूको प्रायोजनमा वितरण गरिएको अध्यक्ष तुम्बापोले जनाए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully