लमजुङको बेंसीसहरमा आजदेखि ३३ औं संस्करणको त्रिवेणी कप

विजेताले १२ लाख रुपैयाँ पुरस्कार पाउने

पुस १२, २०८२

आश गुरुङ

The 33rd edition of the Triveni Cup begins today in Besisahar, Lamjung

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा आज शनिबारदेखि त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण सुरु हुँदैछ ।

बेंसीसहरको सहजीस्थित खेलमैदानमा आयोजना हुने प्रतियोगिताको पहिलो खेल साविक विजेता विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र सुन्दरबजार फुटबल क्लबबीच दिउँसो २ बजे हुनेछ ।

आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले पहिलो दिन उद्घाटन खेल भएकाले एउटामात्रै खेलाइने र त्यसपछि फाइनल बाहेक हरेक दिन २ वटा खेल खेलाइने बताए ।

विजेताले १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपबिजेताले ६ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किप्परले जनही २५/२५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा यसवर्ष १६ टीमको सहभागिता रहने छन् ।

प्रतियोगितामा गतवर्ष सेमीफाइनलमा पराजित २ टीमलाई २/२ लाख रुपैयाँ दिँदै आएकोमा यसवर्षदेखि हटाइएको छ । १५ पुस तमू ल्होसारको साँझ आयोजना हुने त्रिवेणी साँझसमेत गरी प्रतियोगिता सञ्चालनका लागि १ करोड ३२ लाख ३५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully