शनिबार आयोजित साधारणसभामा राखेपमा भर्खरै सदस्य नियुक्त रग्बी संघका सदस्य शन्तकुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेश प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
काठमाडौँ — नेपाल रग्बी संघको १३ औं वार्षिक साधारणसभाका अवसरमा रग्बीका वर्ष २०२५ का उत्कृष्ट पुरुष खेलाडी नवीनबहादुर मगर र उत्कृष्ट महिला खेलाडी मनीषा घिसिङलाई पुरस्कृत गरेको छ । दुवै आर्मीका खेलाडी हुन् ।
शनिबार आयोजित साधारणसभामा राखेपमा भर्खरै सदस्य नियुक्त रग्बी संघका सदस्य शन्तकुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेश प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
सभामा कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार रग्बीले १ करोड ३५ लाख रुपैयाँको बजेट पास गरेको छ ।
सात प्रदेश, ५८ जिल्ला र ७ वटा राष्ट्रिय क्लबमध्ये अधिकांशको सहभागिता रहेको सभामा संघका अध्यक्ष दीपक देवकोटाले रग्बीको दायरा फराकिलो पार्न विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए । जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गर्यो । महासचिव गोविन्द घिमिरेले कार्यप्रगति विवरण र भावी योजना प्रस्तुत गरेका थिए । उनको भावी योजनामा विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिइएको छ ।
साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का कार्यबाहक सदस्यसचिव रामचरित्र मेहताले गरेका थिए । निवर्तमान सदस्यसचिव टंकलाल घिसिङले रग्बीलाई व्यावसायिक बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए ।