सुम्हात्लुङ मिनी-म्याराथनमा पुष्पा र अमिर प्रथम

पुरुषतर्फ ताप्लेजुङको मैयाखोलाका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा  (फुङनारा) ले उपाधि जितेका छन्।

पुस १२, २०८२

लक्ष्मी गौतम

Pushpa and Amir take first place in Sumhatlung Mini-Marathon

पाँचथर — फिदिममा आयोजित सुम्हात्लुङ मिनि-म्याराथनको उपाधि पुरुषतर्फ ताप्लेजुङ मैयाखोलाका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा  (फुङनारा) ले जितेका छन्।

म्याराथनमा अमिरले निर्धारित साढे नौ किलोमिटर दुरी २२ मिनेटमा पूरा गरेका थिए भने महिलातर्फ निर्धारित साढे ५ किलोमिटर दुरी पुष्पाले १९ मिनेटमा पूरा गरेकी थिइन्।

पुरुष तर्फको प्रतियोगितामा २९ मिनेटमा दौड पूरा गर्दै मिक्लाजुङका ओसन राई दोस्रो र ताप्लेजुङ फक्ताङलुङका रमेश लिम्बूले ३० मिनेटमा दुरी पार गरेर तेस्रो स्थान सुरक्षित गरे । 

यस्तै, महिलातर्फको दौडमा पाँचथरकै फाल्गुनन्द गाउँपालिकाकी कृतिका नेम्वाङले २० मिनेटमा निर्धारित दुरी पार गरेर दोस्रो हुँदा २० मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै पाँचथरकै फिदिमकी मेन्छोमा तुम्वापो, तेस्रो भइन्। 

प्रतियोगितामा पुरुष तर्फ ४० र महिला तर्फ १६ जना सहभागी थिए । पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो भएका प्रतियोगीले क्रमशः ३०, २० र १० हजार, तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रो भएका धावकले क्रमशः १५, १० र ५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

फिदिम नगरपालिका–४ स्थित ऐतिहासिकस्थल सुम्हात्लुङ गढीदेखि सुरु गरिएको म्याराथन, क्याम्पसमोड–जोरसाल, पल्लोटार बसपार्क, शनिबारे, जिल्ला प्रहरी कार्यालय र वेलफेयर डाँडा हुॅदै गडी मन्दिरमै पुगेर टुंग्याइएको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully