प्रतियोगितामा विजेता महेन्द्र नमुना माविले नगद ३५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रसहित उपाधि प्राप्त गरेको छ ।
What you should know
गुल्मी — गुल्मीमा सञ्चालित छैटौँ फोर्टिन स्टार कपको उपाधि सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयले जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा इस्मा गाउँपालिका-२ स्थित पालुखा माध्यमिक विद्यालयलाई २-० को अग्रताले महेन्द्र नमुना माविले उपाधि जितेको हो ।
तम्घासस्थित फोर्टिन स्टार युवा क्लबले इस्मा गाउँपालिका-१ झर्नास्थित जैढुंगा बीपी पार्क खेलमैदानमा माध्यमिक तहका विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।
शनिबारको फाइनल खेलमा महेन्द्र माविले पालुखा माविलाई दबाबमा राखेको थियो । यद्यपि पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफमा खेलको ६० औं मिनेटमा महेन्द्र माविका आयुष घर्ती मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि महेन्द्र माविकै एमोस नेपालीले पनि गोल गरे । ७० मिनेट खेलाइएको खेलमा पालुखा मावि लयमा फर्कन सकेको थिएन । महेन्द्र माविले उपल्लो तम्घास मावि र पालुखा माविले रेसुङ्गा माविलाई सेमिफाइनल खेलमा हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
प्रतियोगितामा १४ विद्यालय सहभागी रहेको फोर्टिन स्टार युवा क्लबका अध्यक्ष नारायण आचार्यले बताए । उनका अनुसार, प्रतियोगितामा विजेता महेन्द्र नमुना माविले नगद ३५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रसहित उपाधि प्राप्त गरेको छ । यस्तै, उपविजेता पालुखा माविले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गत मंगलबारदेखि सुरु भएको थियो ।
इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले केही समयअघि मात्रै निर्माण सम्पन्न गरेको जैढुंगा बीपी पार्क खेलमैदान सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा फोर्टिन स्टार युवा क्लब तम्घासलाई धन्यवाद दिए । उनले पछिल्लो समय यस खेलमैदानमा भएका खेल प्रतियोगिताले हौसला थपिएको बताए ।
