एकै ठाउँमा ८ सयलाई कराते प्रशिक्षण

शनिबार सातदोबाटोस्थित कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिइएको हो ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Karate training for 800 people in one place

काठमाडौँ — नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीको सहभागितामा विद्यालय स्तरका खेलाडीलाई प्रशिक्षण दिइएको छ ।

शनिबार सातदोबाटोस्थित कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिइएको हो ।

‘खेलाडीको वृद्धि, विकास, हौसला अभिवृद्धि गर्ने उद्देश्यले एकै ठाउँमा प्रशिक्षण गरिएको हो,’ राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘यस कार्यक्रमले विद्यालय स्तरका खेलाडीलाई सही मार्गदर्शन, प्रेरणा र राष्ट्रिय टिमसम्म पुग्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास लिइएका छौं ।’

हरेक शनिबार निरन्तर रूपमा निःशुल्क प्रशिक्षण प्रदान गर्दै आएको यो कार्यक्रम नवौं हप्तामा प्रवेश गरेको अवसरमा विशेष बनाइएको र सहभागी सम्पूर्ण खेलाडीलाई निःशुल्क च्याम्पियनहरूको हस्ताक्षरसहितको टिसर्ट प्रदान गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम पोखरेलले जानकारी दिए ।

विद्यालयस्तरका विद्यार्थी भाइबहिनीसँग अनुभव साझा गर्न पाउँदा आफूलाई खुसी लागेको करातेकी एसियाड रजत पदक विजेता एरिका गुरुङले बताइन् ।

प्रशिक्षणमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, खेलाडी एरिका गुरुङ, सानुमाया थिङ, स्वनिम मानन्धर, मोहम्मद शेखु आलम, राष्ट्रिय टिमका कप्तान सन्तोष श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।

हाल उपत्यकालक्षित गरिएको कार्यक्रम आवश्यकताअनुसार सातै प्रदेशमा गरिने पनि आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully