प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहकाबीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे ।
What you should know
पोखरा — २२ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन दिन ‘मेन्स सिंगल्स’तर्फ करनबहादुर थापाले शाश्वत बज्राचार्यलाई, सन्दीप विकले प्रफुल्ल श्रेष्ठलाई, जेयुन किमले पेमा नोर्बुलाई, प्रितम परियारले उमिद शेर्पालाई, सुरेन्द्र विकले एन्जल थिङलाई र विवेक मगरले देवाशिषलाई पराजित गरे । त्यसैगरी, आरभसम्राट हाडाले सुमन थारुलाई, दर्शिल श्रेष्ठले निश्चल कायस्थलाई, उगेन शेर्पाले मनोज महर्जनलाई, प्रकाश गुरुङले सुमन त्रिपाठीलाई र सोमज श्रेष्ठले पासाङ शेर्पालाई पराजित गरेका छन् ।
४५ वर्षमाथिको मेन्स सिंगल्समा शरण गुरुङले बलराम सापकोटालाई, नीरज थापाले नारायण पहारीलाई, भीष्मराज पौडेलले सुनिल श्रेष्ठलाई र सेजार गुरुङले विकास गुरुङलाई पराजित गरे । उक्त उमेर समूहको डबल्समा गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले केभी तामाङ र वीरेन लामाको जोडीलाई पराजित गर्यो ।
५५ वर्षमाथिको एकलतर्फ जीतेन्द्र प्रधानले हेमचन्द्र गुरुङलाई, करिमुल्ला मुस्लिमले नवाङ लामालाई र जीतेन्द्र खड्काले सुरेन्द्र माकाजुलाई पराजित गरे । ५५ वर्षमाथिकै डबल्सतर्फ अनु जोन र मनु त्रिपाठीको जोडीले प्रकाश बस्नेत र मनोज नेपालको जोडीलाई तथा देव क्षेत्री र हिमाल शाहको जोडीले यज्ञबहादुर भण्डारी र अमृत गुरुङको जोडीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहकाबीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै उनले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणीय रहेको बताए । पोखरेलीको एकता र साझा प्रयासबाट पोखरा रंगशालाभित्र भौतिक विकासमा महत्त्वपूर्ण सफलता मिलेको उनको भनाइ थियो । प्रतियोगिताको निरन्तरताका लागि आगामी वर्षमा पनि बैंकले साथ दिने प्रतिबद्धता उनले व्यक्त गरे ।
