बुधबारदेखि सुरु प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले भाग लिएका थिए ।
What you should know
विराटनगर — विराटनगर महानगरपालिका स्तरीय १८औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको छ । सहिद रंगशालामा शुक्रबार सम्पन्न प्रतियोगितामा एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कांस्य गरी कुल ३१ पदकसहित उपाधि जितेको हो ।
विराटनगर महानगरपालिकाको आयोजनामा तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा सम्पन्न प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय ८ स्वर्ण, ११ रजत र ७ कांस्य गरी २६ पदकसहित जित्दै दोस्रो तथा ८ स्वर्ण, ७ रजत र ७ कांस्य गरी २२ पदकसहित सत्यनारायण माध्यमिक विद्यालय तेस्रो भयो ।
विभिन्न प्रतिस्पर्धाअन्तर्गत छात्र ट्रिपल जम्पमा जनता माध्यमिक विद्यालयका समिर राजवंशीले स्वर्ण, सत्यनारायण माध्यमिक विद्यालयका रोहन शर्माले रजत र आदर्श माध्यमिक विद्यालयका अमन राजवंशीले कांस्य पदक जिते । छात्रा ट्रिपल जम्पतर्फ स्टार माध्यमिक विद्यालयकी प्रिया मिश्रले स्वर्ण, मिल्स माध्यमिक विद्यालयकी तरबा खातुनले रजत र आदर्श माध्यमिक विद्यालयकी मोहिनी दासले कांस्य पदक हात पारिन् ।
८ सय मिटर दौड (छात्र) तर्फ सत्यनारायण माध्यमिक विद्यालयका नितेश भट्टराईले स्वर्ण, जनता नमुना माध्यमिक विद्यालयका समिर राजवंशीले रजत र ग्यालेक्सी माध्यमिक विद्यालयका विवश अधिकारीले कांस्य पदक जिते । २ सय मिटर दौड (छात्र) तर्फ महेन्द्र माध्यमिक विद्यालयका विराट राजवंशीले स्वर्ण, अरनिको माध्यमिक विद्यालयका अभिषेक यादवले रजत र जनता नमुना माध्यमिक विद्यालयका आयुष राजवंशीले कांस्य पदक जिते । २ सय मिटर दौड (छात्रा) तर्फ सरस्वती माध्यमिक विद्यालयकी फूलकुमारी राजवंशीले स्वर्ण, स्टार माध्यमिक विद्यालयकी प्रिया मिश्रले रजत र आदर्श माध्यमिक विद्यालयकी एन्जिला भट्टराईले कांस्य पदक जितिन् ।
भलिबलतर्फ छात्र विधामा पोखरिया माध्यमिक विद्यालयका अरिबहादुर परियार र छात्रा विधामा विकेभिएमकी सलिस्मा सिंह ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । कबड्डीतर्फ छात्र विधामा महेन्द्र माध्यमिक विद्यालयका दीपेश राजवंशी र छात्रा विधामा सत्यनारायण माध्यमिक विद्यालयकी सन्तोषी राय उत्कृष्ट खेलाडी घोषित भइन् ।
बुधबारदेखि सुरु प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा छात्र र छात्रातर्फ ६६/६६ गरी कुल १ सय ३२ पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टसहित ट्र्याक एन्ड फिल्ड खेलहरूमा प्रतिस्पर्धा भएको थियो ।
विजेता खेलाडी तथा विद्यालयहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार प्रदान गरे ।
