सातौं डीआईजीपी कप : दिल्ली पब्लिक र प्रभात सेकेन्डरी क्वाटरफाइनलमा प्रवेश

नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगरले वाल्मीकि एजुकेसन फाउन्डेसन विर्तामोड, झापालाई १–० गोलले पराजित गदैे क्वाटर फाइनलमा यात्रा तय गरेको हो ।

पुस ११, २०८२

एलिना राई

7th DIGP Cup: Delhi Public and Prabhat Secondary advance to quarterfinals

What you should know

धरान — सातौं संस्करणको प्रदेशस्तरीय अन्तर विद्यालय डीआईजीपी कप फुटबल प्रतियोगिताको तेस्रो दिन सम्पन्न दुई खेलमा दिल्ली पब्लिक सेकेन्डरी स्कुल विराटनगर र प्रभात सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुल धरान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा दिल्ली पब्लिक सेकेण्डरी स्कुल विराटनगरले वाल्मीकि एजुकेसन फाउन्डेसन विर्तामोड, झापालाई १–० गोलले पराजित गदैे क्वाटरफाइनलमा यात्रा तय गरेको हो । खेलको पहिलो हाफको २०औं मिनेटमा दिल्ली पब्लिकका अमन खवासले गरेको गोल निर्णायक बन्यो । अमन खवास खेलको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यस्तै, दोस्रो खेलमा प्रभात सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुल धरानले सैनिक आवासीय महाविद्यालय धरानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । खेलको पहिलो हाफको १५औँ मिनेटमा प्रभातका स्कुलका भुवन भण्डारीले पहिलो गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा दोस्रो गोल थपे । दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका भण्डारी खेलको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइली, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङ, नेपाल पुलिस स्कुल धरानका प्राचार्य मनिका सुब्बा राई, प्रतियोगिता संयोजक तथा विद्यालय समादेशक प्रहरी निरीक्षक सुरेश कुमार हायू, सम्बन्धित विद्यालयका प्रतिनिधि, शिक्षक, प्रहरी कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे आदर्श इंग्लिस स्कुल मोरङ र सिद्धार्थ सेकेन्डरी स्कुल मोरङबीच हुनेछ भने दोस्रो खेल दिउँसो साढे २ बजे माउन्ट हर्मन एकेडेमी धरान र सफल सिद्धार्थ एकेडेमी मोरङबीच हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन् । प्रतियोगिताका विजेताले ट्रफीसहित नगद रु. ८१ हजार ५ र उपविजेताले ट्रफीसहित रु. ४१ हजार ५ प्राप्त गर्नेछन् ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully