देवीपुर रोयल्सले शनिबार समनपुर बोल्ट्ससित सेमिफाइनल खेल्ने छ ।
What you should know
रौतहट — चन्द्रपुर मेयर कप लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत शुक्रबार सम्पन्न चन्द्रपुर प्रिमियर लिगमा देवीपुर रोयल्सले नेपाल तराई सिटी बेरोजगार टिमलाई ९८ रनले पराजित गरेको छ ।
देवीपुरले शनिबार समनपुर बोल्ट्ससित सेमिफाइनल खेल्ने छ ।
चन्द्रपुर–८ स्थित कोटिहोम खेल मैदानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको देवीपुरले पहिलो पारीमा १३ चौका र ४ छक्काको मद्दतले ८ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाएको थियो । प्लेयर अफ द म्याच घोषित देवीपुरका दिनेश बोहराले ३२ बलमा ४८ रन बनाइ एलबीडब्लु आउट भए । अर्का खेलाडी साहिल पटेलले १९ बल खेलेर ३० रन बनाए । अर्जुन घर्तीले १५ बल खेलेर २३ रन बनाए । मयन यादवले १४ बलमा १३ रन बनाए । रामचन्द्र धमालले अविजित १० रन बनाए । अन्य खेलाडीले खासै रन बनाएनन् ।
नेपाल तराई सिटी बेरोजगार टिमका आशिक बैठाले ३ विकेट लिए । सन्नी साहले २ विकेट लिए । मनसुन सिंह, जितेश मण्डल र दयानन्द मण्डलले १/१ विकेट लिए ।
१ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपाल तराई सिटी बेरोजगार टिम १४.३ ओभर खेलेर सबै विकेटको नोक्सानीमा ५१ रनमै सीमित भयो । रित गौतमले १५ बल खेलेर १२ रन बनाए । टिममा सबैभन्दा धेरै १२ रन बनाउने गौतम एक्ला खेलाडी हुन् ।
अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । जितेश मण्डलले १४ बल खेलेर ७ रन बनाए । सन्नी साहले १४ बल खेलेर ६ रन बनाए । सचिन यादवले १३ बल खेलेर ५ रन बनाए । रनविर यादव, दया मण्डल र अभिषेक कार्कीले एक रन पनि बनाउन सकेनन् । तीनै जना जिरोमा आउट भए । अधिकांश खेलाडी क्रिजमा जम्न सकेनन् ।
देवीपुर रोयर्ल्सका खेलाडी रैयन आलम, दिनेश बोहरा, विशाल सुशलिङ र साहिल पटेलले २/२ विकेट हात पारे ।
