पवनको अलराउन्ड प्रदर्शनमा एपीएफको रोमाञ्चक जित

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा बिहीबार आफ्नो अन्तिम खेलमा एपीएफले आर्मीलाई हराउँदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको हो ।

पुस ११, २०८२

राजु चौधरी

APF's thrilling win on Pawan's all-round performance

What you should know

चितवन — पवन सर्राफको अलराउन्ड प्रदर्शनमा विभागीय टोली एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ । 

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा बिहीबार आफ्नो अन्तिम खेलमा एपीएफले आर्मीलाई हराउँदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको हो । जितसँगै एपीएफ सबै ५ खेल खेल्दा ३ मा जित र २ मा हार बेहोर्दै ६ अंकसहित तेस्रो स्थानमा छ । 

१ सय ७१ रनको विजय लक्ष्य पछ्याएको आर्मी ९ विकेट क्षतिमा १ सय ६५ रनमात्रै बनाउन सकेपछि आर्मी ५ रनको हार बेहोर्न बाध्य रह्यो । आर्मीलाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । नरेन साउदले ३ बलमा २ रन लिँदै अन्तिम बलमा दुर्गेश गुप्तालाई स्ट्राइक दिएका थिए । अन्तिम बलमा ६ रन आवश्यक छँदा दुर्गेश सलाउद्दिन खानबाट कट एन्ड बोल्ड भएपछि एपीएफ ५ रनले विजयी भयो । 

आर्मीबाट इमरान शेखले ७२ रन बनाए पनि जितलाई पर्याप्त भएन । उनले ४१ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । अर्जुन साउदले ५ छक्का र १ चौका सहयोगमा ४६ रन, तृतराज दासले १८ र नरेन साउदले ११ रन बनाए । एपीएफका पवन सर्राफले २ ओभरमा ११ रन खर्चिंदै ४ विकेट लिए । दिनेश अधिकारीले २, सलाउद्दिन खान र दिवश पुनले १–१ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले ८ विकेट गुमाई १ सय ७० रन बनाएको थियो । पवन सर्राफले २९ बलमा ५ छक्का र ५ चौका मदतमा ५६ रन बनाए भने अमरसिंह राउटेलाले २ चौका र २ छक्का प्रहार गर्दै २८, प्रज्वल शाहीले २० र दीपक बोहराले १४ रन बनाए ।

आर्मीका दुर्गेश गुप्ताले ३, सन्तोष यादव र नरेन साउदले समान २–२ विकेट लिए भने तृतराज दासले १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका पवन सर्राफ प्लेयर अफ द म्याच घोषित भए । 

अर्को खेलमा भारतको दिल्ली वन्डर्स ३६ रनले विजयी हुँदै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । त्रिभुवन आर्मी अन्तिम खेलमा पराजित भएसँगै दिल्ली नेट रनरेटको आधारमा पहिलो स्थानमा उक्लिएको हो । एक खेल खेल्न बाँकी दिल्लीको ३ मा जित र १ मा हार बेहोर्दै ६ अंकसहित अगाडि छ भने आर्मी सबै ५ खेल खेल्दा ३ मा जित र २ मा हार बेहोर्दै ६ अंक लिए दोस्रो स्थानमा छ । 

दिल्लीले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको भारतकै तलतला इन्स्टिच्युट ७ विकेट क्षतिमा १ सय ८७ रनमात्र बनाउन सकेपछि दिल्लीले महत्त्वपूर्ण जित हात पारेको हो । तलतलाका सौरभ यादवले अविजित ९७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले १३ छक्का र ३ चौका प्रहार गरे । आशुतोष पटेलले २२, अतफ खानले २१ रन बनाए । दिल्लीका प्रदीप यादवले ४ र विवेक धामीले ३ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको दिल्ली मोहम्मद कैफको १०९ रनको शतकीय इनिङ्समा ४ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । कैफले ५६ बलमा ८ छक्का र ११ चौका प्रहार गरे । हर्षित सेठ्ठीले ६ छक्का प्रहार गर्दै ५६ रन बनाए । तलतलाका सौरभ यादव, अदित्य चित्रान्स, प्रशान्त श्रीवास्तभ र बोडी शंकरले १–१ विकेट लिए । शतक बनाएका कैफ प्लेयर अफ द म्याच भए । तलतला लगातार चौथो हारसँगै एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

राजु चौधरी चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully