डीआईजीपी कप फुटबलको दोस्रो खेलमा बाल्मीकि विजयी

आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेल दिल्ली पब्लिक स्कुल विराटनगर र बाल्मीकि एजुकेसन फाउन्डेसन झापाबीच हुनेछ भने दोस्रो खेल प्रभात सेकेन्डरी स्कुल धरान र सैनिक आवासीय महाविद्यालय धरानबीच हुनेछ।

पुस १०, २०८२

एलिना राई

Valmiki wins second match of DIGP Cup football

धरान — सातौं संस्करणको प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजीपी कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा मोरङको बाल्मीकि मेमोरियल सेकेन्डरी स्कुल विजयी भएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा बिहीबार सम्पन्न खेलमा बाल्मीकि मेमोरियलले झापाको निधि सेकेन्डरी स्कुल, बिर्तामोडलाई २–१ को अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफको पहिलो मिनेटमै बाल्मीकिका साङ्केन्मा बान्तवा राईले गोल गर्दै टिमलाई अग्रता दिलाए भने पाँचौं मिनेटमा मनीष दुलालले दोस्रो गोल थपे। दोस्रो हाफको ३८ औं मिनेटमा निधिका पूजन ढकालले एकमात्र गोल फर्काए । खेलको उत्कृष्ट खेलाडी साङ्केन्मा बान्तवा राई घोषित भए।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रिय खेलाडी इन्दु रसाइलीले विद्यालय तहबाटै खेलकुदको विकास गर्न सकिए भविष्यमा सक्षम राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताइन् । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्रप्रसाद फुयाल, प्रहरी नायब उपरीक्षक सहकुल केसी, प्रहरी निरीक्षक जीवनकुमार गौतम, नेपाल पुलिस स्कुल धरानका प्राचार्य मनिका सुब्बा राई, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १ बजे दिल्ली पब्लिक स्कुल विराटनगर र बाल्मीकि एजुकेसन फाउन्डेसन झापाबीच हुनेछ भने दोस्रो खेल दिउँसो साढे २ बजे प्रभात सेकेन्डरी स्कुल धरान र सैनिक आवासीय महाविद्यालय धरानबीच हुनेछ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully