ललितपुर लगनखेलस्थित बुद्धिविकास मण्डलको मैदानमा १० देखि १६ वर्षसम्मका खेलाडीलक्षित गरी फुटबल क्याम्प सुरु गरिएको एकेडेमीले जनाएको छ ।
What you should know
काठमाडौँ — वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि तीन दिने ‘फन रुट्स जापान फुटबल क्याम्प’ सुरु गरेको छ ।
ललितपुर लगनखेलस्थित बुद्धिविकास मण्डलको मैदानमा १० देखि १६ वर्षसम्मका खेलाडीलक्षित गरी फुटबल क्याम्प सुरु गरिएको एकेडेमीले जनाएको छ ।
नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण दिइरहेका छन् । उनीहरूको साथमा नेपालका ‘ए’ लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङसहित हरि लामा, राजेश शाही, चेतन घिमिरे, सचिन श्रेष्ठलगायत स्थानीय प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन् ।
बिहान ९–११ बजेसम्म १०–१२ वर्ष र दिउँसो २–४ बजेसम्म १३–१६ वर्षका खेलाडीलाई ३ दिन प्रशिक्षण दिइने एकेडेमीका अध्यक्ष गौचनले जनाए । प्रशिक्षणमा झन्डै १ सय युवाको सहभागिता छ ।
सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदपछि ‘स्टार ब्वाइ’ बनेका गौचनले साढे दुई दशकदेखि जापानलाई कर्मथलो बनाउँदै आएका छन् । तीन वर्षअघि उनले आफ्नै नाममा फुटबल एकेडेमी खोलेर बच्चा र युवालाई प्रशिक्षण दिँदै आएका छन् । उनको पहलमा पछिल्लो दशकयता हरेक वर्ष नेपालका किशोर खेलाडीहरूले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।
गौचन ओगुरा जेएफएको सर्टिफाइड लेभल टु इन्स्ट्रक्टर हुन् । उनी जे लिग क्लब सोनम बेलमेरमा तीन वर्ष यू–१३ का प्रशिक्षक रहे । ओगुराले सन् २०१५ देखि विभिन्न स्कुल, एकेडेमीलाई प्रशिक्षण दिँदै आएका छन् । उनी जापानको टोकियोमा अवस्थित फन रुट्स फुटबल एकेडेमीमा पनि आबद्ध छन् ।
