ओपनर बेन डकेटले रक्सी पिएर तमासा गरेपछि इंग्लिस टिमलाई गाह्रो भएको हो । पछिल्लो चार वर्ष ३० वर्षीय आर्चर फिटनेससहित अनेक समस्याका टिममा परिरहेका थिएनन् ।
What you should know
मेलबर्न — इंग्ल्यान्डको एसेज सिरिजका लागि अस्ट्रेलिया भ्रमण अझ धेरै समस्यामा परेको छ । चोटका कारण स्टार बलर जोफ्रा आर्चरले सिरिजका बाँकी दुई टेस्ट नखेल्ने भएका छन् । अर्कोतर्फ टिम आफैं मैदानभित्र र बाहिरको समस्याले कठिन स्थितिमा पुगेको हो ।
ओपनर बेन डकेटले रक्सी पिएर तमासा गरेपछि इंग्लिस टिमलाई गाह्रो भएको हो । पछिल्लो चार वर्ष ३० वर्षीय आर्चर फिटनेससहित अनेक समस्याका टिममा परिरहेका थिएनन् ।
टिममा फर्केयता उनको प्रदर्शन उच्च छ । भारतविरुद्धको सिरिजमा उनले पुनरागगन गरेका थिए । सिरिजका बाँकी दुई टेस्टमध्ये चौथो शुक्रबार मेलबर्नमा सुरु हुनेछ । पाँचौं तथा अन्तिम टेस्ट भने सिड्नीमा जनवरी ४ देखि हुनेछ । पाँच टेस्टको सिरिजमा अस्ट्रेलिया ३–० ले अगाडि छ र यससँगै उसले एसेज सिरिज जितिसकेको छ । आर्चर बुधबार मेलबर्न क्रिकेट मैदानमा आयोजित अभ्यासमा उपस्थित थिए ।
तर, उनी प्रशिक्षणमा सहभागी भएनन् । पछि टिम व्यवस्थापनले उनी अन्तिम दुई टेस्टमा उपस्थित नहुने पुष्टि गरेको थियो । उनले पर्थ, ब्रिसवेन र एडिलेडमा भएको टेस्टमा कुल ८० ओभर बलिङ गरेका थिए । यसक्रममा उनले ९ विकेट पनि लिए । इंग्लिस बलरमध्ये उनी सबैभन्दा कम रन खर्चेनेमा एक थिए । एडिलेडमा भएको तेस्रो टेस्टमा उनले पहिलो इनिङ्समा ५३ रनमा ५ विकेट लिएका थिए भने ५० रन पनि जोडेका थिए ।
अब आर्चरको स्थानमा गुस एटकिन्सनले लिनेछन् । तेस्रो क्रमका ब्याटर ओली पोपको स्थानमा ज्याकोब बेथलले खेल्नेछन् । पोपले यो सिजनमा २०.८३ को औसतले मात्र रन बनाएका छन् । तर विवादबीच पनि ३१ वर्षीय डकेटले टिममा स्थान बनाएका हुन् । ब्याटबाट उनको प्रदर्शन पनि खराब छ । उनले १६ को औसतले मात्र रन बनाएका छन् । कप्तान डेन स्टोक्सले डकेटसँग कुरा गरेको पनि बताइएको छ ।
स्टोक्सले ब्रिटिस प्रेससँगको कुराकानीमा भनेका छन्, ‘निश्चित रूपमा मैले डकेटसँग कुरा गरेको छु । मैले उनलाई आफ्नो तर्फबाट पूरा समर्थन रहेको पनि बताएको थिएँ । यस्तो बेला जे गरे पनि खराब हुने स्थिति हुन्छ । कप्तानका रूपमा मेरो काम राम्रो नतिजा निकाल्नु नै हो । यस्तै खेलाडीलाई मानसिक रूपमा बलियो राखेर सक्दो राम्रो खेल्ने प्रेरित गर्ने पनि हो ।’
उनले खराब लयबाट गुज्रिरहेको इंग्लिस टिमप्रति सहानुभूति राख्न अनुरोध गर्दै कप्तानका रूपमा अहिले सबैभन्दा खराब समय चलिरहेको बताए । उनले थपे, ‘पक्कै पनि अहिले सबैभन्दा गाह्रो समय चलिरहेको छ । तर म भाग्ने भने छैन । मैले नै सिरिजका बाँकी टेस्टमा पनि नेतृत्व गर्नेछु । मलाई लाग्छ, मैले आफ्ना खेलाडीलाई सहयोग नै गर्न सक्छुं । टिमलाई चारैतर्फबाट आलोचना हुँदा गाह्रो हुन्छ ।’
‘कसैको पनि जीवनमा यस्तो खराब समय आउने रहेछ । यस्तो बेला धेरै भावनात्मक पनि हुनुहुन्न,’ उनले भने । इंग्लिस टिममा कप्तान स्टोक्ससहित ज्याक क्रली, डकेट, बेथल, जो रुट, ह्यारी ब्रुक्स, जेमी स्मिथ, विल ज्याक्स, एटकिन्सन, ब्रायडनकार्स र जस टोङ्ग छन् ।
त्यसअघि अस्ट्रेलियाले पनि चोटग्रस्त नाथन लियोनको स्थानमा डट मर्फीलाई टिममा राखिएको जनाएको थियो । उनीसँगै अपेक्षाअनुसार कप्तान प्याट कमिन्सलाई आराम दिइएको छ । कमिन्सको स्थानमा स्टिभ स्मिथले कप्तानी गर्नेछन् । टिमका अन्य सदस्यमा स्कट बोलान्ड, एलेक्स क्यारी, ब्रेन्डट डोगेट, क्यामरुन ग्रिन, ट्रेभिस हेड, जोस इंग्लिस, उस्मन ख्वाजा, मार्नस लाबुसचेन, टड मर्फी, मिचेल नेसर, जेए रिचर्डसन, मिचेल स्टार्क, ज्याक वेथरलर्ड र बेउ वेबस्टर छन् ।
