दोस्रो डीभीएम कप अन्तर विद्यालय क्रिकेटमा आयोजकको विजयी सुरुवात

इटहरी–९ स्थित नेपाल डीभीएम ग्लोबल स्कुलको पिचमा बुधबार सम्पन्न उद्घाटन खेलमा आयोजकले टेन्डरफिट इङलिस स्कुललाई ८ विकेटले पराजित गरेको छ ।

पुस ९, २०८२

अर्जुन सुवेदी

The host makes a winning start in the second DVM Cup inter-school cricket

What you should know

सुनसरी — विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित सुनसरीमा सुरु भएको दोस्रो डीभीएम कप अन्तर विद्यालय क्रिकेटमा आयोजकले विजयी सुरुवात गरेको छ ।

इटहरी–९ स्थित नेपाल डीभीएम ग्लोबल स्कुलको पिचमा बुधबार सम्पन्न उद्घाटन खेलमा आयोजकले टेन्डरफिट इङलिस स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको टेन्डरफिटले निर्धारित १० ओभरमा सबै विकेट गुमाउँदै ७१ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको डीभीएमले ९ दशमलव ५ बलमा २ विकेट गुमाएर विजयी लक्ष्य भेटाएको थियो । 

बुधबार नै सम्पन्न दोस्रो खेलमा आयोजकको अर्को टिम डीभीएम सगरमाथाले इटहरी मोडल स्कुललाई ३४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको डीभीएम सगरमाथाले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनको उच्च योगफल खडा गरेको थियो । जवाफमा १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको इटहरी मोडलले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । बिहीबारको पहिलो खेल युनिक एकेडेमी र माउन्ट मकालु आवासीय माविबीच हुँदा दोस्रो खेल सुष्मा सेकेन्डरी स्कुल र ब्राइट फ्युचर सेकेन्डरी स्कुलबिच हुने आयोजकले जनाएको छ । 

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका बिभिन्न १९ विद्यालयको सहभागिता रहेको छ । सुनसरीमा पहिलो पटक विद्यालय स्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगिताको विजेताले नगद २५ हजार र उपबिजेताले १५ हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार र विधागत उत्कृष्ट हुनेले २ हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी १९ टिमलाई ६ वटा समूहमा विभाजन गरिएको छ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने उक्त समूहका ८ टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणबाट नकआउटको आधारमा प्रतिस्पर्धा गराइने प्राचार्य डा. वेणुप्रसाद सिटौलाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कुल ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको विद्यालयका सञ्चालक नारायण सुबेदीले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै खेल अनुशासन, सहकार्य र आत्मसम्मान अभिवृद्धि गर्नु हो ।

खेलकुदमार्फत विद्यार्थीहरूले जित र हारलाई समान रूपमा स्वीकार गर्न सिक्ने, नियमको पालना गर्ने तथा निरन्तर प्रयास र लगनशीलताको महत्त्व बुझ्ने आयोजकको अपेक्षा रहेको विद्यालयका सञ्चालक ईश्वरी पराजुलीले जानकारी दिए । यस प्रतियोगिताबाट प्रतिभावान् विद्यार्थीलाई आˆनो क्रिकेट कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितासम्म पुग्ने ढोका खोल्ने आयोजकले विश्वास लिएको छ ।

अर्जुन

Link copied successfully