नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ४० रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
What you should know
विराटनगर — साविक विजेता सरस्वती स्कुलले चौथो विराटनगर हव अन्तरस्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ४० रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरको खेलमा १७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनको सामान्य योगफल बनायो । सरस्वतीका विकाश कामत र रोहित कामतले समान १९–१९ रनबाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । सत्यनारायणका मनिष कामत, राहुल यादव र शत्रुधन चौधरीले समान २–२ विकेट लिए ।
जवाफमा ८४ रनको लक्ष्य पछ्याएको सत्यनारायण सस्तैमा समेटियो । १२ दशमवल ३ ओभरमा सबै विकेट गुमाउँदै ४३ मात्रै बनायो । सत्यनारायणका सागर यादवले सर्वाधिक १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सरस्वतीका प्रशान्त यादवले ४ विकेट लिँदा सुरज मण्डलले ३ विकेट हात पारे ।
फाइनल खेलको प्लेयर अफ द म्याच सरस्वतीका प्रशान्त यादव र सुरज मण्डल संयुक्त रूपमा घोषित भए । प्लेयर अफ द सिरिज ग्रिनपिस स्कुलका मिराज शेख बने । त्यसैगरी, उत्कृष्ट ब्याटर ग्रिनल्याण्ड स्कुलका प्रिन्स यादव र उत्कृष्ट बलर सरस्वती स्कुलका प्रशान्त यादव भए ।
विजेता तथा अन्य खेलाडीहरूलाई मोरङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष ऋषिबचन यादव, हिसान कोशीका सदस्य मनिष भट्टराई, नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठ, नेपालका पूर्वराष्ट्रिय खेलाडी सिद्धान्त लोहनी, मिल्स क्रिकेट क्लबका अध्यक्ष मुरली चौधरी तथा मोरङ जिल्ला क्रिकेट संघका सदस्य मनोज चौधरीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।
