पुस ११ देखि माछापुच्छ्रे पोखरा ओपन टेनिस हुने

पोखरालाई खेल पर्यटनको माध्यमबाट परिचित गराउने उद्देश्यले संघले २२ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गरिरहेको संघका अध्यक्ष राजकुमार गुरुङले बताए ।

पुस ९, २०८२

दीपक परियार

Machhapuchhre Pokhara Open Tennis to be held from December 11

पोखरा — कास्की जिल्ला टेनिस संघको आयोजनामा २२ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगित ११ देखि १५ पुससम्म पोखरा रंगशालामा हुने भएको छ ।

संघले बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । पोखरा रंगशाला टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा पुरुष तथा महिला एकल तथा डबल्समा ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष र ६५ वर्षमाथि गरी विभिन्न १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता संयोजक एवं संघका उपाध्यक्ष नविन चालिसेका अनुसार ओपनतर्फ पुरुष र महिला सिंगल्स विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलिस्टले २० हजार रुपैयाँ पाउनेछन् । डबल्सतर्फ विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

३५ वर्षमाथिको सिंगल्स विजेताले ६० हजार र उपविजेताले ३० हजार, ४५ वर्षमाथिको विजेताले ४० हजार र उपविजेताले २० हजार, ५५ वर्षमाथिको विजेताले ३० हजार र उपविजेताले १५ हजार तथा ६५ वर्षमाथिको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय रुपैयाँ जित्नेछन् ।

पोखरालाई खेल पर्यटनको माध्यमबाट परिचित गराउने उद्देश्यले संघले २२ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गरिरहेको संघका अध्यक्ष राजकुमार गुरुङले बताए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully