विभिन्न १२ खेलको ३२ विधामा आयोजित खेलकुदमा जेम्सले कुल ४९ अंक प्राप्त गर्दै ५ लाख रुपैयाँ पुरस्करा जितेको छ ।
काठमाडौँ — तेस्रो संस्करणको थन्डर बोल्ट्स कप खेलकुदमा जेम्स स्कुल लगातार तेस्रो वर्ष च्याम्पियन ट्रफी उचालेको छ ।
विभिन्न १२ खेलको ३२ विधामा आयोजित खेलकुदमा जेम्सले कुल ४९ अंक प्राप्त गर्दै ५ लाख रुपैयाँ पुरस्करा जितेको छ । एभीएम स्कुल दोस्रो तथा निःसर्ग बाटिका स्कुल तेस्रो स्थानमा रहे । एभीएमले २० र निःसर्ग बाटिकाले ११ अंक बटुलेका थिए । काठमाडौं उपत्यकाभित्र र बाहिरका गरी १ सय ७ भन्दा बढी स्कुलका ३ हजार ५ सय विद्यार्थी खेलाडीको सहभागिता रहेको थियो ।
विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र जेम्स स्कुलका अध्यक्ष राजेश खड्कालगायतले पुरस्कृत गरे । महासचिव राईले स्कुल स्पोर्ट्सलाई हाँक्ने अभियानमा जेम्सले नेतृत्व लिइरहेको बताउँदै युवा प्रतिभाहरू यस्तै खाले प्रतियोगिताबाट उत्पादन हुने स्मरण गराए ।
समापनमा एनओसी स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका प्राविधिक निर्देशक जोन ह्विटल, लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्मा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतका व्यक्तित्व पनि उपस्थित थिए ।
आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक राजीव क्षेत्रीले सहभागी विद्यालय र खेलाडीलाई बधाई दिँदै अर्को वर्षका लागि तयार रहन अग्रिम शुभकामना दिएका थिए ।
