टस जितेर ब्याटिङ गरेको एपीएफले कप्तान सुमित महर्जन र दीपक बोहराको अर्धशतकीय इनिङ्समा २० ओभरमा ५ विकेट गुमाएर २ सय १२ रनको विशाल योगफल बनायो ।
What you should know
चितवन — नेपाल एपीएफ क्लबले इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिपमा मंगलबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १ सय ७ रन अन्तरले पराजित गरेको छ ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भइरहेको प्रतियोगितामा मंगलबार टस जितेर ब्याटिङ गरेको एपीएफले कप्तान सुमित महर्जन र दीपक बोहराको अर्धशतकीय इनिङ्समा २० ओभरमा ५ विकेट गुमाएर २ सय १२ रनको विशाल योगफल बनायो ।
सुमितले ५८, प्लेयर अफ द म्याच बोहराले ५७, दिनेश अधिकारीले ८ बलमा अविजित ३७ र अमरसिंह राउटेलाले ७ बलमा अविजित २० रन बनाए । पुलिसका श्रवण यादवले ३ र सुजन थपलियाले १ विकेट लिए ।
जबाफमा पुलिस १३.२ ओभरमै १ सय ५ रनमै अलआउट भयो । पुलिसबाट दीपेन्द्र रावतले ३५ र अर्जुन घर्तीले २२ रन बनाए । एपीएफका अभिशेष गौतमले १८ रन खर्चिदै ४ विकेट लिए भने दिवान पुनले ३, भुवन कार्कीले २ र सलाउद्दिन खानले १ विकेट लिए ।
पहिलो खेलमा नियमित कप्तानसहित चार मुख्य खेलाडीविनै मैदानमा उत्रिएको त्रिभुवन आर्मी क्लबले घरेलु टोली चितवन क्रिकेट क्लबविरुद्ध संघर्षपूर्ण जित पायो । कप्तान विनोद भण्डारी, भीम सार्की, शाहब आलम र बसिर अहमद टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश भएपछि आर्मी जितेन्द्रसिंह ठकुरीको कप्तानीमा मैदान उत्रिएको थियो ।
विकेटकिपर/ब्याटर अर्जुन साउदको ९३ रनप्रेरित आर्मीले ६ विकेट गुमाई १ सय ७५ रन बनायो । गौतम केसीको बलमा क्याचआउट हुनुअघि प्लेयर अफ द म्याच अर्जुनले ५४ बल खेल्दै ५ छक्का र ७ चौका प्रहार गरे । इमरान शेखले २७, सन्तोष यादवले २१ रन बनाए । चितवनका गौतमले ३, दिपेश श्रेष्ठ र नरेश प्रधानले १–१ विकेट लिए ।
जवाफमा चितवन १ सय ६२ रनमा अलआउट भयो । ब्याटर प्रतीक श्रेष्ठले विष्फोटक इनिङ्स खेल्दै आर्मीलाई अन्तिमसम्म दवाबमा राखे । ४० बलमा ६२ रन बनाएका उनी बाउन्ड्रीलाइनमा इमरान शेखबाट क्याचआउट भए । रिजन काफ्लेले २३, विपिन खत्रीले २२ र गौतम केसीले ११ रन बनाए । आर्मीका आकाश चन्दले १५ रन खर्चिंदै ४, दुर्गेश गुप्ताले ३, अपराजित पौडेलले २ र नरेन साउदले १ विकेट लिएका थिए ।
बुधबार आर्मी र तलतला इन्स्टिच्युट कोलकाता तथा दोस्रो खेलमा चितवन र भारतको दिल्ली वन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।
