ग्रान्ड मास्टर क्षेत्रीले सञ्चालन गरे बंगलादेशमा रेफ्री सेमिनार

बंगलादेश युवा तथा खेलकुद मन्त्रालयको विशेष निमन्त्रणमा राजु क्षेत्रीले ढाकामा तीन दिन चलेको ब्ल्याकबेल्ट डान टेस्ट र रेफ्री सेमिनार सञ्चालन गरेका थिए ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Grand Master Chhetri conducts referee seminar in Bangladesh

काठमाडौँ — विश्व तेक्वान्दो महासंघ (कुकिवान) का उपाध्यक्ष तथा ग्रान्ड मास्टर नेपालका राजु क्षेत्रीले बंगलादेशमा तेक्वान्दोको ब्ल्याकबेल्ट डान टेस्ट र रेफ्री सेमिनार गराएका छन् ।

बंगलादेश युवा तथा खेलकुद मन्त्रालयको विशेष निमन्त्रणमा क्षेत्रीले ढाकामा तीन दिन चलेको ब्ल्याकबेल्ट डान टेस्ट र रेफ्री सेमिनार सञ्चालन गरेका थिए । बंगलादेशका तेक्वान्दोका राष्ट्रिय खेलाडी पुलिस अन्सारसहित १ सय ५० जनाको सहभागिता थियो ।

विश्व तेक्वान्दोले क्षेत्रीलाई बंगलादेशको डान टेस्ट र सेमिनारका लागि मनोनयन गरेको हो । बंगलादेश नेसनल कभर्डहलमा भएको कार्यक्रममा बंगलादेश तेक्वान्दो महासंघ महासंघका अध्यक्ष मोहम्मद हबाब उल्लाह, उपाध्यक्ष मोहम्मद होसुजमन खान, महासचिव मोहम्मद इर्शादुल हक, राष्ट्रिय प्रशिक्षक कमरुजामान चञ्चल, सदस्य आरिफ रबानीको उपस्थिति थियो ।

Grand Master Chhetri conducts referee seminar in Bangladesh

बंगलादेश ओलम्पिक कमिटीका डाइरेक्टर सैफुल कबिर र बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले सहभागीलाई प्रमाणपत्र वितरण गरे ।  

यूएस ओपनमा तीन पटक निर्णायक रहिसकेका क्षेत्री दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा जज बनिसकेका छन् ।

सन् २००८ मा भएको विश्व वरीयताको जी–टु कोरियन ओपनमा स्वर्ण जितेका क्षेत्री अप्रिलमा विश्व तेक्वान्दो (डब्लूटी) को विदेश विभाग उपाध्यक्षमा नियुक्त भएका थिए ।

कान्तिपुर

Link copied successfully