प्रतियोगितामा महिला र पुरुषतर्फ गरी १४ टिमको सहभागिता रहनेछ ।
What you should know
पोखरा — छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ ९ देखि १७ सम्म पोखरा रंगशालामा हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगितामा महिला र पुरुषतर्फ गरी १४ टिमको सहभागिता रहने जनाएको छ ।
प्रतियोगितामा थाइल्यान्ड, भारत र माल्दिभ्सका टिम सहभागी हुनेछन् । महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र वाइल्ड क्विन्स थाइल्यान्ड सहभागी हुँदैछन् । यससँगै नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब रुपन्देहीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब भारत सहभागी छन् । हेल्प नेपालका खेलाडी समेटेर यसपल्ट पर्वत जिल्ला भलिबल संघ सहभागी हुने भएको हो ।
यसपल्ट गत वर्षको तुलनामा पुरस्कार राशि वृद्धि गरी प्रतियोगितामा विजेता दुवै समूह महिला तथा पुरुषतर्फका टिमलाई समान राशिको पुरस्कार व्यवस्था गरिएको टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले बताए । उपाधि विजेताले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ रुपैयाँ र विधागततर्फ उत्कृष्ट खेलाडीले जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस वर्ष प्रतियोगिताका लागि भारत र माल्दिभ्सबाट पहिलोपटक अन्तर्राष्ट्रिय भलिबल रेफ्री सहभागी हुँदैछन् । प्रतियोगिता सम्पन्न गर्न १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा यसपल्ट गत वर्षभन्दा बढी दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
यसपल्ट टाइगर कपका सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । ‘दर्शकको सहजीकरणका लागि ३ हजार ५ सय रुपैयाँको अनलाइन सिजनल टिकटको व्यवस्था गरी वितरणसमेत गरिसकिएको छ,’ अध्यक्ष शर्माले भने, ‘ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका महानुभावलाई निःशुल्क खेल हेर्न र उनीहरूका लागि सकेसम्म छुट्टै बस्ने व्यवस्था गरिनेछ ।’
टाइगर ग्रुपले प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष शर्माको अध्यक्षतामा १ सय ७ सदस्यीय मूल आयोजक समिति र १४ उपसमिति गठन गरेको छ ।
‘प्रतियोगितामा विदेशी टिमको सहभागिता र भव्य तयारीले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सफल भएका छौँ,’ अध्यक्ष शर्माले भने, ‘प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य, शिक्षा, खेलकुद एवं सामाजिक क्षेत्रमा लगानी गरिनेछ ।’
