एएफसी एसियन कप खेलेका पतङवा घरमै सम्मानित

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामको उपस्थितिमा स्थानीयले घरमै पुगेर पतङवालाई सम्मान गरेका हुन् ।

पुस ८, २०८२

आनन्द गौतम

Patangwa, who played in the AFC Asian Cup, honored at home

ताप्लेजुङ — २३ वर्षमुनिको एएफसी एसियन कप फुटबल प्रतियोगितामा सहभागी ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवाका लहन पतङवालाई घरमै सम्मान गरिएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामको उपस्थितिमा स्थानीयले घरमै पुगेर पतङवालाई सम्मान गरेका हुन् ।

नव प्रयास युवा क्लब फुङलिङ नगरपालिका–९ हाङदेवाबाट खेलिरहेका उनले ताजिकिस्तानमा गत भदौ १८ देखि २३ गतेसम्म भएको प्रतियोगितामा सहभागिता जनाएका थिए । गृह जिल्ला आएको अवसरमा क्लबका प्रतिनिधि र स्थानीय युवाको आयोजनामा उनलाई सम्मान गरिएको हो ।

बुबाआमा लगायत परिवारका सदस्यलाई पनि ऊर्जा मिलोस् भन्ने उद्देश्यले घरमै सम्मान कार्यक्रमको आयोजना गरिएको र मन्त्रीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको स्थानीय बिश्वराज राईले जानकारी दिए।

‘गाउँमा अहिले पनि खेलेर के हुन्छ भन्ने सोच छ,’ स्थानीय सन्तान मादेनले भने, ‘गाउँका अभिभावकलाई पनि बुझाउने हाम्रो उद्देश्य हो ।’

जिल्ला खेलकुद विकास समितिका अनुसार जिल्लाबाट एसियन कप खेल्ने उनी पहिलो खेलाडी हुन् ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully