क्लब स्थापना हुँदा पोखराका एबीसी, संगम क्लब, सहारा क्लब चर्चामा थिए । लालीगुराँस टोलका खेलाडी यिनै क्लबबाट फुटबल खेल्थे ।
What you should know
पोखरा — पोखरा महानगरपालिकाको वडा १२ मा छ लालीगुराँस टोल । एक समय गुण्डागर्दीले बदनामी खेपेको यो टोलप्रतिको दृष्टिकोण फेर्न त्यहीका युवा लागिपरे अनि स्थापना गरे, लालीगुराँस एसोसिएसन क्लब ।
सांगीतिक कार्यक्रम आयोजनादेखि समाजसेवासम्मका गतिविधिमा संलग्न यो क्लबले खेलकुदमा समेत अघि बढ्दै यस वर्ष एन्फा राष्ट्रिय लिग खेल्दै छ ।
पोखराको वडास्तरबाट राष्ट्रिय लिगसम्म लालीगुराँसको फुटबल यात्रा कम्ता रोमाञ्च छैन । ०६९ सालमा क्लबले पोखरा सभागृहमा नेपथ्यको कन्सर्ट गर्ने योजना बनायो । तर कन्सर्ट आयोजना गर्न र आवश्यक सुरक्षा व्यवस्थाका लागि संस्था दर्ता हुनुपर्थ्यो । कन्सर्ट गर्नकै लागि जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरेको क्लबका अध्यक्ष डम्बरजंग गुरुङ सम्झन्छन् । हङकङ, जापान, अस्ट्रेलिया, बेलायत, अमेरिका, मकाउ, यूएईलगायत देशमा क्लबको शाखा खुल्न थाले ।
क्लबले सांगीतिक कार्यक्रमबाट हुने बचत र विदेशमा रहेका सदस्यबाट प्राप्त सहयोग सेतीनदी बाढीपीडित, भूकम्पपीडितको राहत र पुनर्स्थापनामा खर्चियो । क्लबले ०७२ को भूकम्पमा धादिङ र गोरखा पुगेर राहत वितरण गर्यो । वैशाख ३ मा हरेक वर्ष वार्षिकोत्सवमा क्लबले रक्तदान आयोजना गर्छ ।
क्लब स्थापना हुँदा पोखराका एबीसी, संगम क्लब, सहारा क्लब चर्चामा थिए । लालीगुराँस टोलका खेलाडी यिनै क्लबबाट फुटबल खेल्थे । संस्था दर्ता भइसकेपछि भने क्लबले आफ्नै फुटबल टिम बनायो । ०७१/७२ मा कास्की जिल्ला फुटबल संघको सदस्य भएर औपचारिक रूपमा फुटबलमा प्रवेश गर्यो । क्लबले आफ्नै फुटबल एकेडेमी स्थापना गरे पनि कोरोना महामारीपछि निरन्तरता दिन सकेन । यू–१९ को राष्ट्रिय टिमबाट खेलेका सिद्धार्थ रञ्जित एकेडेमीका उत्पादन हुन् ।
फुटबल यात्राको एक दशकमा लालीगुराँस राष्ट्रिय लिगसम्म पुग्न सफल भएको छ । कास्की जिल्ला लिग, प्रदेश लिग विजेता हुँदै हेटौंडामा गत मंसिरमा सम्पन्न एन्फा प्रेसिडेन्ट लिगको ट्रफी उचाल्दै लालीगुराँसले राष्ट्रिय लिगमा प्रवेश पाएको हो । प्रेसिडेन्ट लिगको उपविजेता चित्लाङ फुटबल क्लब र बाँकी दुई सेमिफाइनलिस्ट बाराको नव जनजागृति क्लब र सुर्खेतको काँक्रेबिहार स्पोर्ट्स क्लबले राष्ट्रिय लिगमा प्रवेश पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पुस २५ देखि काठमाडौंमा हुने राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र प्रेसिडेन्ट कपका ४ गरी १७ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गरी त्यसबाट शीर्ष ६ टिम र प्रेसिडेन्ट लिगका शीर्ष ४ गरी १० टिमबीच राष्ट्रिय लिग खेलाउनुपर्थ्यो । तर ‘ए’ डिभिजन लिगअघि नै एन्फाले राष्ट्रिय लिग गर्ने निर्णय गर्यो । ‘ए’ डिभिजन लिग भने राष्ट्रिय लिगपछि गर्ने निर्णय भएको छ । हिमालयन शेर्पाबाहेक १३ टिमले राष्ट्रिय लिगमा नाम दर्ता गराएपछि १७ टिमबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । ‘ए’ डिभिजन लिगका चर्च ब्वाइज युनाइटेड, मछिन्द्र, नेपाल पुलिस, जावलाखेल युथ, सातदोबाटो युथ र एनआटी उत्कृष्ट ६ मा परेका थिए । थप सात ‘ए’ डिभिजन क्लब त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, संकटा, फ्रेन्ड्स, एपीएफ, प्लानिङ ब्वाइज र श्री भगवती क्लब प्रतिस्पर्धी हुनेछन् । प्लानिङ ब्वाइज र श्री भगवती ‘बी’ डिभिजनबाट ‘ए’ मा उक्लिएका टिम हुन् ।
यस वर्ष ‘ए’ डिभिजन लिग नगरी गत वर्षकै नतिजाका आधारमा राष्ट्रिय लिग खेल्न दिन एन्फाको निर्णयले मोफसलका चार टिमलाई समस्यामा पारेको क्लबका अध्यक्ष डम्बरजंग गुरुङ बताउँछन् । ‘१० टिम मात्रै हुँदा एक टिमले ९ म्याच खेले पुग्थ्यो भने १७ टिम हुँदा १६ खेल खेल्नुपर्छ,’ उनी भन्छन्, ‘खेल लम्बिँदा काठमाडौंबाहिरबाट जाने टिमको खर्च दोब्बर बढ्छ ।’
१० टिम हुँदा एन्फाले जनही उपलब्ध गराउने ३५ लाख रुपैयाँ पनि अब १७ टिम पुग्दा एक टिमले १५ लाख मात्रै पाउने छन् । ‘ए’ डिभिजनका ६ टिम मात्रै हुँदा अन्य टिमका खेलाडी मोफसलका टिमले तान्ने सम्भावना हुन्थ्यो । अहिले राम्रा खेलाडी भित्र्याउन पनि समस्या देखिएको उनले सुनाए । उनले भने, ‘एन्फाको यस्तो निर्णयमा पुनर्विचार गर्न निवेदन बुझायौं तर कुनै सुनुवाइ भएन ।’
क्लबले तीन विदेशी खेलाडी भित्र्याएर बाँकी गण्डकी प्रदेशकै खेलाडीलाई टिममा समावेश गर्ने योजना बनाएको छ । तर विदेशी खेलाडी भित्र्याएर क्लबलाई आर्थिक अभाव देखिएको छ । क्लबका महासचिव ईश्वर बस्याल प्रेसिडेन्ट कप जित्दासम्म ५० लाख रुपैयाँ खर्च भएको सुनाउँछन् । ‘पुरस्कार १० लाख रुपैयाँ पायौं । राष्ट्रिय लिग खेल्न एक–डेढ करोड खर्च हुने देखिन्छ,’ उनी भन्छन्, ‘तर अहिलेसम्म स्रोतको सुनिश्चितता भइसकेको छैन ।’ विदेशमा रहेको शाखाबाट उपलब्ध सहयोग, वडाका स्थानीय व्यवसायीको सहयोगले जेनतेन धानिरहे पनि राष्ट्रिय लिग खेल्न खर्चको अभाव मुख्य रूपमा देखिएको उनले बताए । ‘सहयोगका लागि गण्डकी प्रदेश सरकारसम्म पुग्यौं तर एक लाखभन्दा दिन नमिल्ने भनियो,’ उनले भने, ‘वडा र स्थानीयले गर्ने सहयोग पर्याप्त हुँदैन ।’
टोखा नगरपालिकाले श्री भगवतीलाई एक करोड र सिमरा नगरपालिकाले नव जनजागृतिलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गराउँदै उनले लालीगुराँसले पनि पोखरा महानगरपालिकाबाट सहयोगको अपेक्षा गरेको बताए । ‘पोखरा र गण्डकी प्रदेशकै प्रतिनिधित्व गरेर खेल्दै छौं,’ उनले भने, ‘महानगर, प्रदेश सरकार र यहाँका व्यावसायिक घरानाले पनि अपनत्व लिइदिए हुन्थ्यो भन्ने क्लबको चाहना छ ।’ महानगरमा सहयोगको लागि आग्रह गरे पनि कुनै ठोस निर्णय नआएको उनले सुनाए ।
क्लबका प्रशिक्षक किरण श्रेष्ठका अनुसार तीन विदेशी खेलाडी भित्र्याउँदा २५–३० लाख खर्च हुन्छ । राष्ट्रिय खेलाडीलाई प्रवेश गराउँदा प्रतिखेलाडी ४–५ लाख रुपैयाँ लाग्छ । प्रायोजक नपाउँदा खेल्न नसक्ने स्थिति पनि आउन सक्ने उनी बताउँछन् । ‘खेलेनौं भने एन्फाले कारबाही गर्छ । पोखराको इज्जतका लागि पनि खेल्न लागेका छौं,’ उनले भने, ‘बरू खल्तीबाट पैसा हाल्छौं, पोखराको इज्जत फाल्दैनौं ।’
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ पोखराको प्रतिनिधित्व गर्ने टिमलाई सफल बनाउन पोखरेलीकै साथ आवश्यक रहेको बताउँछन् । यसअघि पोखराकै संगम क्लबले डेढ दशकअघि राष्ट्रिय लिगमा सहभागिता जनाएको थियो । पोखराबाट राष्ट्रिय लिग खेल्ने लालीगुराँस दोस्रो टिम हो ।
राष्ट्रिय लिगपछि ‘क्वालिफाइङ’ खेल्ने क्लबको योजना रहेको अध्यक्ष डम्बरजंग गुरुङले सुनाए । उनले भने, ‘अबको ३–४ वर्षमा ‘ए’ डिभिजन क्लबका उक्लिने हाम्रो लक्ष्य छ । त्यसका लागि रकमको जोहो नै चुनौतीको रूपमा उभिएको छ ।’
