चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा पुलिसले दोस्रो जित दर्ता गरेको हो ।
What you should know
चितवन — सुजन थपलियाको अर्धशतकमा नेपाल पुलिस क्लबले इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा सोमबार भारतको तलतला इन्स्टिच्युट क्लब कोलकातालाई २६ रनले पराजित गरेको छ ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा पुलिसले दोस्रो जित दर्ता गरेको हो । टस जितेको पुलिस १८.४ ओभरमा १ सय ४९ रनमा अलआउट भयो । पुलिसबाट प्लेयर अफ द म्याच सुजनले ४७ बलमा ७० र शंकर रानाले १९ रन बनाए । तलतलाका आदित्य चित्रान्सले ३, अताफ खानले २, सौरभ यादव र शिवम कुमारले समान एक विकेट लिए । अर्धशतक बनाएका पुलिसका सुजन थपलिया प्लेयर अफ द म्याच चुनिए ।
जवाफमा तलतला १८.१ ओभरमा १ सय २३ रनमै अलआउट भयो । निखिल रावले २९, प्रशान्त श्रीवास्तवले २५, हिमांशु सिंहले १७ रन बनाए । पुलिसका राशिद खानले ४ ओभरमा २४ रन खर्चिदै ३ विकेट लिए भने श्रवण यादवले ४ ओभरमा १२ रन मात्रै खर्चिंदै २ विकेट लिए ।
दीपक चन्द र अशोक धामीले २–२ विकेट लिए ।
पहिलो खेलमा दिल्ली वन्डर्सले नेपाल एपीएफ क्लबलाई ९५ रनले हरायो । दिल्लीले निर्धारित १७ ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनायो । दिल्लीका प्रियान्स भारध्वजले ३० बलमा ६१, मोहम्मद कैफले २८ बलमा अविजित ६०, अंकुर कौशिकले ३९ रन जोडे । एपीएफका भुवन कार्की, अमरसिंह राउटेला र सलाहुद्दिन खानले १–१ विकेट लिए ।
जवाफमा एपीएफ १४.५ ओभरमा १ सय १७ रनमै अलआउट भयो । प्रज्वल शाहीले १५ बलमा अविजित २८, सुमित महर्जनले २७ र सलाहुद्दिनले २३ रन बनाए । दिल्लीका हर्षित सेठ्ठीले ३.५ ओभरमा १९ रन खर्चिदै ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच बने । अंकुर कौशिकले २, विवेक धामी र दुश्यन्त राघवले १–१ विकेट लिए ।
