एनआई कप क्रिकेट : ज्ञानदा एकेडेमीको लगातार तेस्रो जित

ज्ञानदाका जय सर्राफ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

पुस ७, २०८२

शंकर आचार्य

NI Cup Cricket: Gyanada Academy's third consecutive win

पर्सा — वीरगन्जमा जारी नेसनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा ज्ञानदा एकेडेमी वीरगन्जले लगातार तेस्रो जित निकाल्दै आफ्नो विजय यात्रालाई निरन्तरता दिएको छ ।

उसले बाल एकता कलेज कलैयालाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । निर्धारित १७ ओभरको खेलमा ज्ञानदाले टस जितेर पहलो ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १ सय ७२ रनको विशाल योगफल खडा गर्‍यो ।

ज्ञानदाका ओपनर जोडी समिम मियाँ तेली र विवेक प्रजापतिले क्रमशः १५ र २५ रन जोडेर ठोस सुरुवात गरे । प्रियांश सर्राफ २९ र जय सर्राफले अविजित ५६ रनको उल्लेखनीय योगदान गरे । कप्तान चन्दन रामले १७ रन जोडे । बाल एकताका आरिफ आलमले २, करण साह तेली र सागर गुप्ताले १/१ विकेट लिए ।

विशाल विजयी लक्ष्य पाएको बाल एकता १६ ओभर ५ ओभरमा ९४ रनमै सिमित भयो । उसका ओपनरहरु निखिल तिवारी र आरिफ आलमले क्रमशः १२ र १५ रन को योगदान गरे । करण साह तेली २१ र शिवकुमार कर्णले १६ रन बनाए ।

ज्ञानदाका चन्दन राम र प्रियांश सर्राफले ३/३, मुन्ना यादवले २ तथा मोहम्मद सहिन र विवेक प्रजापतिले १/१ विकेट लिए । ज्ञानदाका जय सर्राफ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully