अन्तर स्कुल क्रिकेट : ग्रिनपिस र अर्किड स्कुल सेमिफाइनलमा

अर्किडका प्रेम कामत सर्वाधिक ५३ रन बनाउँदै प्लेयर अफ द म्याच भए ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Inter-school cricket: Greenpeace and Orchid School advance to semi-finals

What you should know

विराटनगर — ग्रिनपिस स्कुल र अर्किड स्कुल चौथो विराटनगर हब अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा मेरिलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कुलले डीएभी स्कुललाई २ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको डीएभी स्कुलले निर्धारित २० ओभरमा १९ दशमवल ३ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १६ रन बनायो । डीएभीका प्रभान्स कर्णले सर्वाधिक ४० रन बनाए भने ग्रिनपिसका समिमले ३ विकेट लिए ।

जवाफमा १ सय १७ रनको लक्ष्य पछ्याएको ग्रिनपिस स्कुलले १६ दशमवल ५ ओभरमा ८ विकेटको क्षति व्यहोर्दै लक्ष्य पूरा गर्‍यो । ग्रिनपिसका साकिर आलमले २९ रन जोड्दा प्लेयर अफ द म्याच आमिर रैनले अविजित २१ रनको योगदान दिए । डीएभीका अन्स अग्रवालले ४ विकेट लिए ।

यसैगरी चौथो क्वाटरफाइनल खेलमा अर्किड स्कुलले विकेभीएम स्कुललाई १४ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । टस जितेर ब्याटिङ गरेको अर्किड स्कुलले निर्धारित २० ओभरमा १९ दशमवल ४ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २२ रन बनायो । अर्किडका प्रेम कामतले सर्वाधिक ५३ रन बनाउँदै प्लेयर अफ द म्याच भए । विकेभीएमका जितेन्द्र यादवले ३ विकेट लिए ।

जवाफमा १ सय २३ रनको लक्ष्य पछ्याएको विकेभीएम स्कुलले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो । विकेभीएमका विवेक यादवले ३७ रन जोडे । अर्किडका प्रेम कामत, सुजन यादव, अभय कामत र अन्सु कामतले समान २–२ विकेट लिए ।

कान्तिपुर

Link copied successfully