नेपालले जिम्बावे, थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डसँग खेल्ने
काठमाडौँ — नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोटको समूह चरणमा जिम्बावे, थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डको सामना गर्ने भएको छ । नेदरल्यान्ड्स क्रिकेटले समाजिक सञ्जालमार्फत जनाएअनुसार नेपाल र नेदरल्यान्ड्ससहित जिम्बावे, थाइल्यान्ड, स्कटल्यान्ड समूह ‘बी’ मा रहेका छन् ।
नेपालले जनवरी १४ देखि फेब्रुअरी ३ सम्म आयोजना गर्ने १० राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन् । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मूलपानीको माथिल्लो र तल्लो मैदानमा हुनेछ । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् ।
क्रिकइन्फोका अनुसार नेपालले जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी र जनवरी १६ मा अमेरिकासँग कीर्तिपुरमा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले जनवरी १८ मा थाइल्यान्ड, जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बावे तथा जनवरी २६ मा स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट पहिलो पटक आयोजना गर्न लागेको हो । नेपालले यसअघि नै दोस्रो चरणका लागि २० खेलाडी छनोट गरिसकेको छ ।
