एनपीएलको ट्रफी दाङमा प्रदर्शन

शनिबारदेखि बाँकेको नेपालगञ्जबाट सुरु भएको ट्रपि टुर बर्दिया हुँदै आइतबार दाङ पुगेको हो ।

पुस ६, २०८२

दुर्गालाल केसी

NPL trophy displayed in Dang

दाङ — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण विजेता लुम्बिनी लायन्सले ट्रफी टुर गरिरहेको छ । यही क्रममा आइतबार दाङका तुलसीपुर र घोराहीमा ट्रफी प्रदर्शन गरिएको छ ।

शनिबारदेखि बाँकेको नेपालगञ्जबाट सुरु भएको टुर बर्दिया हुँदै आइतबार दाङ पुगेको हो । तुलसीपुरको वीरेन्द्र चोक र घोराहीका विभिन्न ठाउँमा ट्रफी प्रदर्शन गरिएको थियो । घोराहीमा क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैया, लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतम लगाएतको टोलीले ट्रफीको स्वागत गर्दै बजार परिक्रमा गराएका थिए । ट्रफी प्रदर्शनमा खेलाडी र खेलप्रेमीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

NPL trophy displayed in Dang

लुम्बिनी प्रदेशको साझा ट्रफी भएकाले खुसी बाँड्न प्रदेशका १२ वटै जिल्लामा पुग्ने योजना बनाएको लुम्बिनी लायन्सका फ्रेन्चाइज म्यानेजर गौरव फुँयालले बताए । ट्रफी प्रदर्शन पुस ७ गते रूकुम पूर्वको रूकुमकोट हुँदै पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौर पुग्ने कार्यतालिका रहेको उनले बताए ।

NPL trophy displayed in Dang

पुस ९ गते प्युठानको भिङ्ग्री हुँदै नेपालकै चर्चित स्वर्गद्वारी मन्दिर, पुस १० गते बिजुवारदेखि चकचके दरभाङ र दाङको भालुवाङसम्म टुर गर्ने योजना रहेको उनले बताए । पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म र पुस १३ गते गुल्मीको तम्घाससम्म टुर गर्ने योजना रहेको छ ।

NPL trophy displayed in Dang

पुस १४ गते पाल्पाको तानसेन बजार र पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म हुँदै पुस १५ गते रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्मको टुर गर्ने उद्देश्य राखिएको उनले जानकारी दिए ।

NPL trophy displayed in Dang

पुस १६ गते बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर गरी मेगा कन्सर्ट गरिने उनले बताए । एनपीएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully