कोशी प्राइड लिग फागुनमा

कोशी प्राइड प्रालिले आयोजना गर्दै आएको केपीएललाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Koshi Pride League in Falgun

What you should know

काठमाडौँ — कोशी प्राइड लिग (केपीएल) को तेस्रो संस्करण फागुन ९ देखि २१ सम्म सुनसरीमा हुने भएको छ ।

कोशी प्राइड प्रालिले आयोजना गर्दै आएको केपीएललाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

केपीएलका निर्देशक अफजल हुसैनले प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुने जनाए । साथै सहभागी टोलीको प्रवर्द्धकको पनि घोषणा गरिएको थियो । 

नमुना ब्लास्टर्समा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्समा कल्पित ढकाल, बिर्तामोड हिट्समा अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव, पूर्वेली सुपर किंग्समा संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिग्देल प्रवर्द्धक रहेका छन् । त्यस्तै एभरेस्ट थन्डर्समा आकाश खड्का, बीएन कोशी अर्नासमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्समा विजय खड्का, पुजनबाबु भट्टराई, किरण खड्का, अमरदीप सापकोटा र रघुनाथ सापकोटा प्रवर्द्धक छन् । 

सहभागी टोलीले १८ खेलाडी राख्नुपर्नेछ, जसमा एक मार्की, एक आइकोनिक, तीन जना ड्राफ्ट (जो राष्ट्रिय टिमका हुनेछन्), क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई तथा क्याटगोरी ‘सी’ का एक खेलाडी रहनेछन् । केपीएलका निर्देशक अफजल हुसैनले केपीएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुने आशा गरे । 

आयोजकले छिट्टै अक्सन मिति घोषणा गर्ने बताएको छ । अक्सनका लागि खुला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ । अक्सनमा क्याटगोरी ‘ए’ को मूल्य ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मूल्य ५ हजारदेखि २५ हजारसम्म राखिएको छ । 

क्यानका सचिव पारस खड्काले आइतबार आयोजित पत्रकार सम्मेलनमा घरेलु क्रिकेटलाई व्यावसायिक बनाउन यस्तो प्रतियोगिता हुन जरुरी रहेको बताए । संयोजक गोविन्द पौडेलले यो प्रतियोगिता मात्र नभई युवा प्रतिभाको पहिचान गर्ने स्थल भएको र यसले नेपाली क्रिकेट विकासमा मद्दत गर्ने धारणा राखे । सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष तथा टेक्निकल हेड चेतनाथ पौडेलले कोशीले क्यान निलम्बन हुँदा पनि प्रतियोगिता आयोजना गर्दै आएको र यो लिगले खेलाडीको क्षमता बढाउन सहयोग पुग्ने जनाए । झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाले एनपीएलको चर्चापछि धेरै स्थानीय लिग सुरु हुँदै गएको बताए । उनले एनपीएलमा खेल्न नपाएका खेलाडीका लागि यो प्रतियोगितामा क्षमता देखाउने माध्यम बन्ने जनाए । 

कान्तिपुर

Link copied successfully