आइतबार कैलालीको धनगढीमा कलेजले उनलाई एक वर्षका लागि एम्बासडरका रूपमा नियुक्त गरेको एसपीएका निर्देशक सुवास शाहीले जनाए ।
काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा इमर्जिङ प्लेयरमा चुनिएका शेर मल्ल सुदूरपश्चिम एकेडेमी (एसपीए) कलेजको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
आइतबार कैलालीको धनगढीमा कलेजले उनलाई एक वर्षका लागि एम्बासडरका रूपमा नियुक्त गरेको एसपीएका निर्देशक सुवास शाहीले जनाए ।
एक वर्षका लागि गरिएको सम्झौतामा शेर र शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे । एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई च्याम्पियन बनाउन शेरले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले प्रतियोगिता अवधिभर १७ विकेट लिँदै सनसनी मच्चाएका थिए र सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा पहिलो स्थानमा थिए ।
सुदूरपश्चिमबाट उदाएका खेलाडी र भविष्यमा क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावनालाई हेरेर शेरलाई कलेजसँग जोडेको निर्देशक शाहीले बताए । शाहीले खेलाडीलाई खेलसँगै आर्थिक हिसाबमा पनि मजबुत गर्दै जाने उद्देश्यका साथ कलेजले ब्रान्ड एम्बासडर नियुक्त गरेको बताएका छन् ।
एसपीएल आफूलाई गरेको सम्मान र सहयोगका लागि क्रिकेटर शेरले धन्यवाद दिँदै कलेजले पढाउने काम मात्रै नभई हामीजस्ता खेलाडीलाई पनि हामी साथमा छौं भन्दै बेलाबेलामा सहयोग गरिरहेको भन्दै यसलाई आगामी दिनमा आफूलाई अझ जिम्मेवार भएर खेल क्षेत्रमा लाग्न प्रेरित गरेको बताए ।
एसपीएले अन्तर्राष्ट्रिय महिला क्रिकेटर कविता कुँवर, क्रिकेटर नारायण जोशीलाई पनि यो भन्दा अगाडि ब्रान्ड एम्बासडर बनाइसकेको छ भने एसपीएकै स्वामित्व रहेको ब्रेड बक्स क्याफेले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटर विनोद भण्डारीलाई पनि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
