आर्सनल ३९ अंकसहित शीर्षमा रहँदा सिटी ३७ अंकसहित दोस्रो स्थानमा छ
काठमाडौँ — इंग्लिस प्रिमियर लिगको शीर्षमा आर्सनल र म्यानचेस्टर सिटी दुई अंकको दूरीमा कायम रहेका छन् । दुवै टिम शनिबारका खेलमा विजयी रहे । आर्सनलले एभरटनलाई १–० ले पराजित गर्यो ।
त्यसमा भिक्टर ग्याकेरेसले पेनाल्टीबाट एक मात्र गोल गरे । त्यस अगाडि सिटीले वेस्ट ह्यामलाई ३–० ले हरायो । त्यस जितमा इर्लिङ हालान्डले दुई गोल गरे । एक गोल टिजानी रिजेन्डेर्सले गरे ।
यो नतिजापछि आर्सनल ३९ अंकको शीर्षमा रह्यो भने सिटी उसको पछाडि ३७ अंकमा रह्यो । लिभरपुल भने नौ खेलाडीमा सीमित टोटनहमलाई २–१ ले हराएर पाँचौं स्थानमा उक्लिन सफल रह्यो ।
अन्य खेलमा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–१ र ब्रेन्टफोर्डले उल्भ्सलाई २–० ले हरायो । यस्तै न्युकासल युनाइटेड र चेल्सीले २–२, बर्नमाउथ र बर्नलीले १–१ र ब्राइटन र सन्डरल्यान्डले गोलरहित बराबरी खेले ।
