दुई दिनसम्म चलेको प्रतियोगिताका विजेतालाई महालक्ष्मी नगरपालिका– ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीलगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौँ — ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को आयोजनामा भएको तेस्रो वडा अध्यक्ष कप चेस प्रतियोगितामा शैलेन्द्र न्यौपानेले प्रथम स्थान हासिल गरेका छन् ।
नेपालका राष्ट्रिय खेलाडीसहित २०० तथा भारतका १३ खेलाडीबीच भएको प्रतिस्पर्धामा शैलेन्द्रले ८ अंकका साथ स्वर्ण जित्दै २५ हजार रुपैयाँ हात पारे ।
रिशोन थापा र मुहान नरसिंह श्रेष्ठ ७.५ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। शीर्ष ६ मा धेरै खेलाडीले थोरै अंकको भिन्नतामा प्रतिस्पर्धा देखाए, जसले प्रतियोगितालाई रोमाञ्चक बनाएको थियो ।
एफएम क्षितिज भण्डारी, कविन्द्र शिवाकोटी, बद्रीलाल नेपाली समान ७.५ अंकका साथ चौथो, पाँचौ, छैटौं स्थानमा रहे भने हेटौंडाका सीएम कृष्ण थापा, मिशन थापा, महालक्ष्मी नगरपालिकाका सुरोज महर्जन, सीएम नवीन तण्डुकार सातौंदेखि दसौं स्थान प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगितामा ३२ जनालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । उक्त प्रतियोगिता प्रमुख निर्णायक फिडे आर्विटर हरिकृष्ण श्रेष्ठको रोहवरमा भएको थियो ।
दुई दिनसम्म चलेको प्रतियोगिताका विजेतालाई महालक्ष्मी नगरपालिका–९ का वडा अध्यक्ष जयकृष्ण बोगटीलगायतले पुरस्कार वितरण गरेका थिए ।
