शनिबार खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् ।
What you should know
काठमाडौँ — ललितपुर महानगरपालिका–८ का रुबिन महर्जन र झापा शिवसताक्षी–८ की इभाना थापाले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
शनिबार खुला सिंगल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा रुविनले ललितपुर–१६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२, ११–९ को सेटमा पराजित गरे । उदयपुर बेलकोटगढी–८ का गनञ्जय दाहाल र ललितपुर–७ का एलेक्स महर्जन तेस्रो भए ।
महिलाको फाइनलमा इभानाले संखुवासभा–४ की वियंका राईलाई ७–११, ११–६, ११–४, १–११, ११–९, ११–६ को सेटमा हराइन् । धरान–१६ की दीक्षा दाहाल र काठमाडौं महानगरपालिका–२६ की अनिता महर्जन तेस्रो भए ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं–२६ का चन्दन शाही विजेता भए । उनले फाइनलमा ललितपुर–२ का समिप श्रेष्ठलाई ११–३, ११–७, ११–८ ले हराए ।
५० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा ललितपुर–११ का राजेन्द्र वज्राचार्यले कीर्तिपुर–६ का जय महर्जनलाई १२–१०, १२–१४, ११–६, ११–७ ले हराएर उपाधि जिते । पुरुष टिम इभेन्टमा ललितपुर–८ ले ललितपुर–७ लाई ३–० ले पराजित गरी स्वर्ण जित्यो ।
प्रतियोगितामा ललितपुर महानगरपालिका वडा ८ टिम च्याम्पियन बन्यो । वडा–८ ले ३ स्वर्ण जितेको छ ।
विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल केसी, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक स्पिन टेबलटेनिस क्लबका अध्यक्ष सुमन शाक्यलगायतले पुरस्कृत गरे ।
टेबलटेनिस खेलको निरन्तर विकास, प्रवर्द्धन र संस्थागत विकासमा अतुलनीय योगदान पुर्याएका टेबलटेनिसका पूर्व जुनियर राष्ट्रिय च्याम्पियन महेश भीमसेरियालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
दुबईमा भएको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।
अनर मोबाइलको मुख्य प्रायोजन तथा एनआईइसी एडुकेसन कन्सल्टेन्सी र एभरेस्ट फेसनको सह–प्रायोजनमा भएको पााचदिने प्रतियोगितामा ४ सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ४० हजार रुपैयाँ रहेको छ ।
